पर्यटन/संस्कृति

लोप हुँदै बाघमुखे चुलेसी

प्यूठान । प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो ।

मल्लरानी– ४ बुडाचौर निवासी ८४ वर्षीय केदार सिं विश्वकर्मा बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्ति हुन् । उनी चार महिनादेखि लगातार बिरामी भएपछि निर्माण कार्य पूर्णरुपमा बन्द भएको छ । समयमै उनको सीप अन्य व्यक्तिलाई नसिकाउने हो भने उनीसँगै जिल्लाको पहिचान गुम्ने खतरामा छ ।
“ अचेलका मानिस व्यवसाय सञ्चालन गर्न सीप सिक काम लाग्छ भन्दा सिक्न खोज्दैनन्,” उनी भन्छन् । एउटा चुलेसी बनाउन करीब ६ सय लाग्छ । त्यसरी बनाएको चुलेसी करीब एक हजार ६०० मा विक्री गर्न सकिने स्थानीय केदार सिं विश्वकर्माको भनाई छ ।

पित्तल पगाल्न चाहिने काठका ठुटा सामुदायिक वनमा पाउन मुस्किल हुने र बलको काम बढी हुने भएकाले परम्परागत काम गर्ने जाँगर युवामा नभएको उनको गुनासो छ । “विश्वकर्माभन्दा पहिला सीप जानेका अग्रज नभएकाले यो सीप हस्तान्तरण गर्न गाह्रो भएको छ”, स्थानीय टुकबहादुर विश्वकर्मा बताउँछन् ।
प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञामुराम न्यौपानेले चुलेसीले जिल्लाको ऐतिहासिकताका साथै पर्यटकीय महत्व बढाएपनि नयाँ पिंढीले परम्परागत पेशालाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन नसको गुनासो गर्छन् । उनले स्थानीय सरोकारवालासँग सहकार्य गरी यसको प्रवद्र्धनमा जोड दिइने बताए। चुलेसी मात्र होइन यससँगै परम्परागत महत्व बोकेका सामग्री लोप भएका छन् । “बाघमुखे चुलेसीको जगेर्नामा हामी लाग्छौ”, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना बताउँछन् ।