अन्तर्राष्ट्रिय

जापानमा कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली जनसंख्या !

टोक्यो । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् ।

सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात् यो कूल जनसंख्याको २८.१ प्रतिशत हो ।

राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो । इटालीमा यो अनुपात २३.३ प्रतिशत, पोर्चुगलमा २१.७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत रहेको छ । सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति २०.७ प्रतिशत रहेको पाइएको छ ।

जनसांख्यिक परिवर्तन हुनुमा जापानको लगातारको न्यून जन्मदर र औसत आयूमा वृद्धि मुख्य कारणहरु रहेका छन् ।

कपाल फुलेका व्यक्तिको जनसंख्याको तिब्र वृद्धिले जापानका नीतिनिर्मातामाथि पेन्सन भुक्तानीको व्यवस्थापन गर्न ठूलो दबाब सिर्जना भएको छ । -एजेन्सीको सहयोगमा