अन्तर्राष्ट्रिय

वर्तमान सरकारको प्रमुख प्राथमिकता शक्तिको स्थानान्तरण: प्रधानमन्त्री खान

इस्लामावाद । राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताएका छन् ।

स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताउनुभएको हो ।

प्रधानमन्त्री खानलाई उद्धृत गर्दै पाकिस्तान रेडियोले भनेको छ, “नागरिकले आफ्नो विकास र अधिकारका लागि आफै निर्णय लिन पाउनुपर्छ अर्थात् जनताको प्रत्यक्ष सहभागितामा हुने काम जनमुखी हुनसक्छन् । अन्यथा पाकिस्तानमा स्थानीय निकायलाई बलियो बनाउन सकिँदैन ।”

क्रिकेटबाट पाकिस्तानलाई विश्वसामु चिनाउन सफल भएका पाकिस्तानी प्रधानमन्त्रीले स्थानीय सत्तालाई सक्रिय गराइने बताउनुभयो । उहाँले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रभाब क्षेत्र खाइबर पाकतुङ्ख्वा प्रान्तको उदाहरण दिँदै भने, पाकतुङ्ख्वा प्रान्तमा स्थानीय निकायलाई दिइएको अधिकारले उक्त राज्यलाई समृद्धितर्फ डोराएको छ ।

खानले एक हप्ताभित्र नयाँ स्थानीय शासन प्रणालीबारे प्रस्ताव तयार गर्न एक समितिको घोषणा गरेका छन् । समितिले दिने सुझाबलाई आवश्यक छलफल र परिमार्जनसहित प्रान्तीय सभामा लगिने बताइएको छ । उक्त सुझाबलाई कानूनी स्वरूप दिनका लागि एक महिनाभित्र अघि बढाइने छलफलमा प्रधानमन्त्रीले बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।

यस बर्षको जुलाई २५ गते सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्रीको दल पीटीआईले शक्तिको विकेन्द्रीकरणलाई चुनाबी नारा बनाएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले राज्यमा शक्तिको केन्द्रीकरणको यस पहिले भएको अभ्यासले सरकारी शासनबारे जनताको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको बताए ।