बाग्मती

प्रदेशसभाको बैठकमा नयाँ विधेयक प्रस्तुत हुँदै

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा आज अपराह्न बसेको कार्य परामर्शको बैठकले भोलि बस्ने प्रदेशसभाको बैठकका लागि केही नयाँ विधेयक प्रस्तुत गर्ने निर्णय भएको छ ।

भोलि असोज १ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिबाट प्राप्त प्रतिवेदनसहित स्वास्थ्य सेवासम्बन्धी विधेयक २०७५ र संस्था दर्तासम्बन्धी विधेयक २०७५ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रदेशसभाको बैठकले विभिन्न मितिमा पारित गरेको सातवटा विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालाई प्रमाणीकरण गर्न आज त्यसतर्फ पठाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले राससलाई जानकारी दिए । केही दिनभित्रै ती विधेयकलाई सोही बैठकले पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहनराज निरौलाले बताए । प्रदेश नं ३ प्रदेशसभाको बैठक असोज १ गते अपराह्न बस्ने भएको छ ।