प्रदेश 2

निजगढ विमानस्थल निर्माण गरिनेबारे कसले के भने ?

कलैया । बाराको टाँगीया बस्तीका जनतालाई उचित व्यवस्थापन गरेर मात्रै निजगढ विमानस्थल निर्माण गरिने आयोजनाले जनाएको छ ।

रेडियो सिमरा ९१.२ मेगाहर्जको आयोजनामा ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवस्था, मुअब्जा वितरण र बस्ती व्यवस्थापन’ विषयक जनसरोकार बहस कार्यक्रममा पूर्व मन्त्री एवम् आयोजना प्रमुखले स्थानीयको माग सम्बोधन गरेर मात्रै विमानस्थल निर्माण हुने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई सरल र सहज रुपमा सम्पन्न गरिने र स्थानीबासीको माग सम्बोधन गरिने बताए । उनले विमानस्थल निर्माणको पहिलो चरणमै टाँगीया बस्ती व्यवस्थापन र अन्य स्थानको जग्गाको मुअब्जासमेत वितरण गराउने प्रतिबद्धता व्यक्त गरे ।

निजगढ विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले विमानस्थल निर्माणको क्षेत्रमा तारबार, जग्गा पहिचान तथा निर्धारणलगायतका काम अघि बढिरहेको बताए । कार्यक्रममा टाँगीया बस्ती सरोकार समितिकी सल्लाहकार पवित्रा कार्की आफूहरुलाई न घर न घाटको बनाउने हो कि भन्ने भय रहेको चिन्ता व्यक्त गर्दै घरबासको पहल गरिदिन आग्रहसमेत गरे ।