राजनीति

दुईतिहाईको सरकार बनेकोबेला नै अधिकतम बिकास गरेर देखाउने समय होः अध्यक्ष दाहाल

काठमाडौँ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आज चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् ।

अध्यक्ष दाहालले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन स्थलको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।

सोही महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक निर्णय गरेको मानिन्छ । अध्यक्ष दाहालले सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे ।

सोही सन्दर्भमा अध्यक्ष दाहालले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका चिनियाँ क्रान्तिका नेता माओ त्से तुङले पहाड खोलेर बनाइएको घरको अवलोकन गरे ।

स्थानीय उपप्रमुख, चिनियाँ कम्युनिस्ट पार्टीका नेता र जनमुक्ति सेनाले अध्यक्ष दाहालको स्वागत गरेको थियो । अवलोकनका क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलको संरक्षण गरेर विश्वभरिकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामग्री प्रदान गरेको बताए। उनले अवलोकन गरिएका स्थलका बारेमा पुस्तकमा पढेको तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुशी लागेको बताए ।

यस्तै आज बिहान अध्यक्ष दाहाल ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गरेका थिए। उक्त शहर विश्वकै ठूलो मोटरसाइकल कारखानाका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष दाहालको स्वागत गरेका थिए । अध्यक्षले मोटरसाइकल, मोटर र सूचना प्रविधिसम्बन्धी उद्योगको अवलोकन गरेका थिए ।

सोही क्रममा अध्यक्षले भने, “नेपालमा बलियो कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको छ । यो बेला नेपालको विकास गर्ने बेला हो । चीन र नेपालका बीचमा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौता भएको छ । उक्त सम्झौता यो नेपाल र चीनका लागि धेरै महत्वपूर्ण छ ।”

उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’कै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताएका थिए ।