प्रदेश 2

औरही अझै अन्धकार

राजविराज । तीन वर्ष अगाडि विद्युत्को पोल गाडे पनि विद्युतीकरण हुन नसक्दा सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ को औरही अझै अन्धकारमा छ ।

औरहीका ३०० घर अहिलेसम्म विद्युतविहीन रहेको स्थानीय मिरदुल यादवले जानकारी दिनुभयो । नयाँ संरचनाअनुसार अधिकांश गाउँपालिका र नगरपालिकामा विद्युत् पुगेपनि यहाँ विद्युतीकरण हुन सकेको छैन ।

नगरपालिकामा पनि विद्युत् सञ्चालन नहुँदा मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानु परेको यादवले गुनासो गरे । भौगोलिक दृष्टिकोणले जिल्लाको अति विकट मानिएको औरहीमा विद्युत् नहुँदा रातिको समयमा पुल्टी बालेर जीवनयापन गर्न बाध्य रहेको सोही ठाउँका नरेश यादवले गुनासो गरे ।

साविकको औरही गाविस वडा नंं १, २, ३ र हाल डाक्नेश्वरी नगरपालिका–६ मा तत्कालीन गाविसले रु पाँच लाख बजेट छुट्याएर पोल गाडे पनि विद्युत् सञ्चालन नहुँदा कष्टकर जीवन बिताउन परेको स्थानीय बासिन्दाको भनाइ छ । यता नेपाल विद्युत् प्राधिकरणले भने उक्त ठाउँमा विद्युत् सञ्चालनका लागि कार्य भइरहेको जनाइएको छ ।