पर्यटन/संस्कृति

यसपालि बालगोपालेश्वरको दर्शन गर्न नपाइने भो

काठमाडौँ । पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ ।
गोरखा भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरपालिका पुरातत्व विभागबीच सकारात्मक छलफल हुन नसक्दा निर्माणको कामले गति लिन सकेको छैन । यसअघि काठमाडौंँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेण्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो ।

कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको हो । विसं २०७२ माघ महीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा पुनःनिर्माणको शुभारम्भ गरेका थिए । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका गर्छन् ।

कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकेको हुनाले अब छिटो निर्माणको काम गर्ने तयारी भइसकेको जानकारी दिए । थापाका अनुसार अहिले पोखरी निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ, अबको केही दिनमा बोलपत्रको समय सकिन्छ र आवश्यक सहमतिपछि निर्माण शुरु गरिन्छ ।
केही दिनअघि राष्ट्रिय पुनःर्मिाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्दा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको बताइसकेका छन् ।

भूकम्प जाँदाको बेला पोखरीको स्वरुप जस्तो थियो सोहीअनुरुप निर्माण छिटो गर्न समय समयमा सम्पदाप्रेमी र राजनीतिक दलका प्रतिनिधिले ज्ञापनपत्र पनि पेश गरेका छन् । पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् विसं १७२५ मा सम्पन्न भएको थियो र विसं १७२७ मा शिलापत्र राखिएको थियो । नेपाल संवत् ८११ मा सो पोखरीलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । रानीको शोक हटाउन बनाइएका हुनाले बोलीचालीमा यसलाई रानीपोखरी नै भन्ने गरिएको छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । पोखरीको दक्षिण भागमा प्रताप मल्ल आफ्ना छोराहरुसहित चढेको सेतो हात्तीको मूर्ति पनि छ ।