राजनीति

‘संविधानका उपलब्धिलाई कम आँक्ने प्रवृत्ति राम्रो होइन’

काठमाडौँ । आधा शताब्दिभन्दा लामो राजनीतिक अनुभव सङ्गालेका वरिष्ठ राजनीतिज्ञहरूले जनताको ठूलो सङ्घर्ष र बलिदानको उपलब्धिको रुपमा संविधानसभाबाट जारी भएको नेपालको संविधानमा नेपाली समाजलाई कुन उचाइमा पु¥याउने भन्ने स्पष्ट मार्गचित्र र दृष्टिकोण रहेको बताए ।

उक्त संविधान जारी भएको तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा रासससँग कुराकानी गर्दै उनीहरूले संविधानले नागरिकको सामाजिक र आर्थिक पक्षको सैद्धान्तिक पाटोलाई सुनिश्चित गरेकाले अब विकास तथा समृद्धिका विषयमा छलफल र बहस चलाउनुपर्ने आवश्यकतामा जोड दिए ।

सङ्घ, प्रदेश र स्थानीय तहको सफल निर्वाचन, संविधानअनुसार तीन तहकै सरकार गठनमा हुँदैआएको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहको कार्यसञ्चालनका कानून बनाउन भइरहेका प्रयासलाई वरिष्ठ नेताहरुले उपलब्धिका रुपमा लिन सुझाव दिएको छ ।

नेपाली काङ्ग्रेसका नेता मानबहादुर विश्वकर्माले अनेकौं विशेषताले भरिपूर्ण नेपालको संविधानले आफ्नै खाले मौलिकता बोकेको हुँदा समयसापेक्ष संशोधन र परिमार्जन गर्दै सफल तुल्याउने ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन तहका निर्वाचन सम्पन्न हुनाका साथै सङ्घीय संरचनाअनुरुप तीनै तहका सरकारले यसको अभ्यास गरिरहेका छन् र मौलिक हकसँग सम्वन्धित कानून सदनबाट धमाधम पास भइरहेका छन्, अब नियमित प्रकृयाबाट यसलाई संशोधन गर्दै सम्पूर्ण नेपाली जनताले अपनत्व ग्रहण गर्नेतर्फ राजनीतिक दल लाग्नुपर्छ ।”

दोस्रो पटकको निर्वाचनपछि गठन भएको संविधानसभाले २०७२ साल असोज ३ गते जारी गरेको नेपालको संविधानमा उल्लेखित मौलिक हकसँग सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न सङ्घीय संसद्ले पछिल्लो समय विधेयक पारित गर्ने कार्यलाई तीव्रता दिँदै आएको हो ।

संविधानको मौलिक हक र कर्तव्यमा सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चारको हक, न्याय सम्बन्धी हक, अपराध पीडितको हक, यातना विरुद्धको हक, निवारक नजरबन्द विरुद्धको हक, सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, सूचनाको हक, गोपनीयताको हक, शोषण विरुद्धको हक, स्वच्छ वातावरणको हक, शिक्षा सम्बन्धी हक, रोजगारी सम्बन्धी हक समेटिएका छन् ।

नेकपाका नेता अमृत बोहराले निकै प्रतिकूलत भएपनि जारी नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका सबै जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सफल भएको बताए ।

उनले भने, “संविधानका मूलभूत उपलब्धिलाई कम आँक्ने, अस्वीकार गर्ने, नदेख्ने प्रवृत्ति राम्रो होइन, मुलुकमा राजनीतिक परिवर्तन त भयो तर यो परिवर्तनले मानसिकता र कार्यशैलीमा परिवर्तन ल्याउन सकेन । नेपाल सामाजिक जगमा उभिएको मुलुक हो, सांस्कृतिक रुपान्तरण र विकासको अभियानमा जनतालाई एकताबद्ध गर्नुपर्छ ।”

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अरु देशको तुलनामा नेपालको संविधानमा मौलिक हक सम्बन्धी अधिकारका धेरै विषयबस्तु समेटिए पनि कार्यान्वयन गरेर अघि बढ्ने सन्दर्भमा धेरै कठिनाइ भइरहेको बताए ।

उनले भने, “दुईतिहाई बहुमत भएर पनि समाजमा व्याप्त भ्रष्टाचार र हत्या हिंसाका घटनाका शृङ्खला नियन्त्रण गर्न सरकार असफल भएकोछ, मन्त्री निर्वाचन क्षेत्रमुखी भएका छन्, संविधान बने पनि सहीढङ्गले प्रयोग हुन नसक्दा पुनरावलोकन गरेर जानुपर्ने अवस्था छ, भूकम्पपीडितलाई छाप्रो बनाउन नसक्ने सरकारले मौलिक अधिकारका विषय कसरी कार्यान्वयन गर्ला ”?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनचाहनाअनुसार गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी सिद्धान्तसहितको संविधान जारी भए पनि व्यवहारिक रुपमा नेपाली जनताको जीवनस्तरमा भने परिवर्तनको मार्गचित्र नै प्रस्तुत हुन नसकेको प्रतिक्रिया दिए ।

उनले भने, “समाजवाद उन्मुख भनेर लेखेको शब्दअनुरुप कार्यनीति र बजेट निर्माण हुनुपर्दछ, विकास नीति, विधि र बजेट परम्परावादी नै छन्, सङ्घीयताले जनतालाई समृद्धि बनाउनुको साटो रोजगारी र स्वास्थ्य सेवामा कटौती गर्ने र करको बोझ थोपर्ने काम भएको छ ।

“अहिले जनता ‘खाइ न पाइ छालाको टोपी लाई’ को अवस्थामा छन् । चार वर्षसम्म राज्य पुनःसंरचना सम्बन्धी विषयमा निर्णायक तहमा बसेर काम गरेका व्यक्तिले नै अहिले प्रदेशलाई अधिकार पुगेन भनेर प्रश्न उठाउनु आश्चर्यको विषय भएको छ,” नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको टिप्पणी थियो ।

उनले भने, “अहिले प्रदेशले अधिकार पुगेन भन्नु निहुँ खोज्ने विषय मात्र हो, हिजो काठमाडौँलाई दोष दिनेले शासन लिएपछि पनि किन काम गर्न सकेनन् त ”? प्रादेशिक अवधारणा नेपालका लागि नितान्त नौलो अभ्यास भएको हुँदा निर्वाचन सकेर प्रदेशलाई व्यवस्थित गर्ने र कानून बनाउने काम भइरहेको अवस्थालाई अन्यथा लिन नहुने उनको सुझाव छ ।

स्थानीय तह र प्रदेशबीचमा सुमधुर सम्बन्ध कायम गरी एउटै लयमा अघि बढ्न सङ्घीय सरकारले वस्तुवादी र व्यवहारिक भएर प्रस्तुत हुन आवश्यक रहेको पनि नेताहरूको तर्क थियो ।