समाचार

विशेष समयमा सांसद योगेश भट्टराईले यस्तो भने

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद योगेश भट्टराईले नेपाल र चीन बीचमा भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गरे ।

उनले नेपाल र चीन बीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने चर्चा गर्दै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । सांसद दिव्यमणि राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय सामाजकल्याण परिषद् कार्यालयमा सार्न नहुने धारणा व्यक्त गरे । सांसद चन्दा चौधरीले महिला र बलात्कार हिंसाका घटना वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै ऐन र नियम संशोधन गरी बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गरे । सांसद प्रदीप यादवले निजगढ विमानस्थलको निर्माण छिट्टो शुरु गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गरे । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गरे । सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षात्को बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिटो सार्वजानिक गर्न सरकारको ध्यानाकर्षण गराए।