राजनीति

सङ्घीयता विरोधिले टाउको उठाउन खोजेः मन्त्री पुन

रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति रोल्पाले आज लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको छ भने ।

सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने बताउँदै उनले सङ्घीयता नचाहने समूहले सङ्घीयताको बदनाम गर्न लागेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, राष्ट्रियसभाका सांसद मीना बुढामगर, प्रदेश सांसद दीपेन्द्र पुनमगर लगायतले जनताको आवश्यकताका आधारमा सरकारको सरकारले गतिविधि बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र बजेट प्रस्तुतीकरण गरेका थिए । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिकासहित १० वटा स्थानीय तह रहेका छन् ।