पर्यटन/संस्कृति

जात्रा पर्व संरक्षणमा च्यालेन्ज

काठमाडौँ । बढ्दै गएको महङ्गीका कारण काठमाडौँ उपत्यकामा परापूर्वकालदेखि सञ्चालनमा रहेका विभिन्न जात्रा पर्व संरक्षणमा चुनौती देखिएको छ ।

मजिपा लाखे व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको जात्रा पर्व संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले पछिल्लो समय भइरहेको मूल्य वृद्धिले जात्रा पर्वको निरन्तरता दिन कठिनाइ भइरहेकामा चिन्ता व्यक्त गरेको हो ।

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्राचीन समयदेखि हाम्रा पूर्वजले निर्माण गरेका विभिन्न कला तथा संस्कृतिले नेपाली सभ्यताको विशिष्ट पहिचान बनाएको बताउँदै इन्द्रजात्रा, लाखेनाच, कुमारी, गणेश भैरव लगायतका परम्पराले नेपाली मौलिकतासँग जोडिएको हुँदा संरक्षणका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

गुठी संस्थानका सदस्य रामशरण डङ्गोलले जात्रा पर्वको संरक्षण गरी तीनलाई निरन्तर सञ्चालन गर्न स्थापना भएको गुठीका अधिकांश जमीन अहिले रैकरमा परीणत भई आम्दानीका स्रोत घट्दै गएकाले पनि समस्या आएको बताउँदै दीर्घकालीनरुपमा मौलिक संस्कृतिलाई बचाउन जनताको भावनाअनुसार सरकारले सहयोग बढाउँदै लैजानुपर्ने बताए ।

संस्कृति संरक्षणका लागि अभियन्ता तथा समाजसेवी डिल्लीरत्न तुलाधरले जात्रा पर्वको इतिहास तथा महत्वलाई जनस्तरमा बुझाउन सकेमा स्थानीय जनताबाट पनि सहयोग सङ्कलन गर्न सकिने विचार व्यक्त गर्दै संस्कृति जगेर्नाका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।