पर्यटन/संस्कृति

हिमालय कला महोत्सव सकियो

काठमाडौँ । दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् ।

काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त महोत्सवमा विभिन्न ११ चित्र बिक्री भएका छन् । प्रदर्शनीमा १३५ कलाकारका करीब २०० सिर्जना प्रदर्शनीमा राखिएको थियो ।

वरिष्ठ कलाकार शशीविक्रम शाह, मदन चित्रकार, कृष्ण मानन्धर, शशीकला तिवारी, वर्षगोपाल वैद्यलगायतले सिर्जना गरेका विभिन्न चित्रसमेत प्रदर्शनीमा राखिएको थियो ।

समसामयिक विषयवस्तुका विभिन्न चित्रका साथै बौद्ध धर्मावलम्बीले करुणाका प्रतीक मान्ने अवलोकितेश्वरलाई थान्का तथा पौभा चित्रमा प्रस्तुत गरिएको छ । महायानी बौद्ध सम्प्रदायले अवलोकितेश्वरलाई बोधिसत्वका रुपमा सम्मान गर्ने गर्दछन् ।

सुन्दर, शान्त र सौम्य स्वभावका ती चित्रले आनन्दको अनुभूति दिन्छ । प्रदर्शनीमा विभिन्न विधाका फोटोग्राफी, ‘उड तथा इचिङ प्रिन्ट’सम्बन्धी सिर्जनासमेत समावेश गरिएको थियो ।

कार्यक्रम आयोजक संस्थाका संयोजक प्रमिला बज्राचार्यले समाज परिर्वतनका लागि सशक्त माध्यम कला भएको बताउँदै यसको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदर्शनी महत्वपूर्ण रहेको बताए ।