पु.समाचार

प्रधानमन्त्री ओलीले ठेकेदारलाई दिए यस्तो निर्देशन !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए। नेपाल निर्माण व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा पनि गरे। उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नसमेत निर्माण व्यवसायीलाई सचेत गराए ।

निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गरे । उनले सरकारले शुरु गरेका विभिन्न रचनात्मक कार्यहरुले गति लिने बेला आएको पनि स्पष्ट पारे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गरे । उनले भने, “सरकारका तर्फबाट कर्मचारी प्रशासनमा रहेको कमजोरी, ऐन कानूनले पारेको प्रभावलगायतका समस्या समाधानका लागि सरकारले सकारात्मक पहल गर्नेछ ।”

आन्तरिकरुपमा नै निर्माण व्यवसायभित्र रहेको समस्या समाधान गरेर सुरक्षित र स्वच्छ वातावरण नबनाउँदासम्म विदेशी लगानीकर्ता र निर्माण व्यवसायीलाई भित्र्याउन नसकिने भएकाले आफूहरु त्यसका लागि सकारात्मक रहेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले भने, “केही ठूला व्यवसायीको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । समयमै काम सम्पन्न गर्ने व्यवसायीलाई विशेष सुविधा दिन पनि प्रयास गरिनेछ ।”

भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा व्यवसायीले उठाएका माग सम्बोधन गर्न सरकारले निर्णय गर्नेसमेत उनको भनाइ थियो । सरकारले नयाँ युगतिर मुलुकलाई अगाडि बढाउने प्रयास गरेको भन्दै अध्यक्ष दाहालले यस ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सङ्कल्पलाई पूरा गर्दै समृद्धिको महायात्रालाई पूरा गरेरै छाडिने उनले स्पष्ट पारे ।

तत्कालीन नेकपा (एमाले) निकट नेपाल निर्माण उद्योग परिषद् र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासङ्घबीच एकता भई नेपाल निर्माण व्यवसायी सङ्गठन स्थापना भएको सो अवसरमा जानकारी गराइयो ।