समाचार

काष्ठमण्डप पहिलो तला तयार

काठमाडौँ । भूकम्पले भत्किएको ऐतिहासिक काष्ठमण्डपको पहिलो तला आगामी असार मसान्तसम्ममा पुनःनिर्माण गरिने भएको छ ।

काष्ठमण्डप पुनःनिर्माण निर्देशक समितिको शुक्रबार बसेको बैठकले काष्ठमण्डपका लागि हालसम्म भएका कामको समीक्षा गरी चालु आर्थिक वर्षको अन्तसम्म पहिलो तला पुनःनिर्माण सक्नेगरी कार्ययोजना बनाइ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं प्रदेश नं ३ प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढङ्गले अघि बढाउन निर्देशन दिए ।

पुनःनिर्माणमा गुणस्तर कायम गर्नका लागि समय समयमा निर्माण सामग्रीलाई प्रयोगशालामा परीक्षण गराउन पनि उनले सुझाव दिए । समिति संयोजक शाक्यले पुनःनिर्माणलाई अघि बढाउन हनुमानढोका प्रहरी कार्यालय रहेको स्थानमा काठको एउटा वर्कशप सञ्चालन भएको र इन्द्रजात्रालगत्तै अर्को वर्कशप पनि स्थापना गरी काम गरिने जानकारी दिए ।

“पुनःनिर्माणमा प्रयोग गरिने सामग्री परीक्षण गरिएको र आगामी दिनमा पनि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन ९युनेस्को० र पुरातत्व विभागले तोकेको मापदण्डअनुरुप परीक्षण गरिनेछ”–उनले भने ।

बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत सरोकार भएका निकायका अधिकारी पनि सहभागी थिए । काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक बजेट महानगरपालिकाले उपलब्ध गराउने र विभागले भने प्राविधिक सहयोग गर्ने जनाइएको छ ।