राजनीति

सभापति देउवाको ठोकुवाः ओली सरकार नै हो निर्मला पन्तको बलात्कारी र हत्याराको संरक्षक

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

काङ्ग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार आयोजना गरेको विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले पन्तका हत्यारालाई सरकारबाट नै संरक्षण भएको आरोप लगाए ।

सभापति देउवाले पार्टीभित्र अनुशासन भए मात्र बलियो हुने बताए । उनले थपे, “पार्टी भनेको धर्मशाला होइन, त्यसैले नेतादेखि कार्यकर्ता सबै अनुशासित भएर बस्नुपर्छ ।” उनले गणेशमान सिंह, कृष्णप्रसाद भटराई र गिरिजाप्रसाद कोइरालाले पार्टीका लागि कहिल्यै झूटो नबोलेको स्मरण गर्दै पार्टीप्रति प्रतिबद्ध भइलागेमा अर्को पटक चुनाव जित्न सकिने भएकाले तयारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले पत्रकार, न्यायालय र चिकित्सा क्षेत्रलाई आतङ्कित पारेको आरोप लगाए । उनले गुटउपगुटलाई त्यागेमा पार्टीमा अन्तरघातको स्थिति नआउने बताए ।

काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विसं २००७, २०४६ तथा २०६३ मा भएको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गरेको तथा संविधान जारी गर्ने तथा कार्यान्वयन गर्ने काम पनि काँग्रेसले गरेको जिकिर गर्दै अब देशको आर्थिक समृद्धिको नेतृत्व पनि काङ्ग्रेसले नै गर्ने बताए ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले चीनबाट नेपालमा रेल ल्याउन रु २५७ अर्ब तथा भारतबाट नेपालमा रेल ल्याउन रु ३०० अर्ब खर्च लाग्ने बताउँदै हालको नेपालको ऋण रु ६ अर्ब डलर रहेका सन्दर्भमा नेपालमा रेल गुडाउने कुरा हावादारी भएको विचार व्यक्त गरे।

काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला, अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, अमृत अर्याल, राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझी, प्रदेश नं ३ का प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश नं १ का प्रदेश सदस्य केदार कार्की, महाधिवेशन प्रतिनिधि डिल्लीराम गिरीलगायतले काँग्रेस आफ्नै कारणले निर्वाचनमा पराजित भएकाले पार्टीभित्र रहेका कमजोरी सच्याउन पार्टी नेतृत्वको ध्यान जानुपर्ने बताए ।