गण्डकी प्रदेश

विकासका लागि नवीनतम् सोच आवश्यक : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि नवीनतम् सोचको खाँचो रहेको बताए । प्रदेश नीति तथा योजना आयोगद्वारा आज यहाँ आयोजित ‘नेपालको विकासका सन्दर्भमा सिङ्गापुरको नमूना’ विषयक अन्तरक्रियामा उनले सिङ्गापुरले पछिल्लो समयमा गरेको विकास नवीनतम् सोचकै कारण सम्भव भएको उल्लेख गरे ।

देशको समग्र विकासका लागि आत्मकेन्द्रित संस्कारको अन्त्य हुनुपर्ने बताउँदै उनले नेतृत्वमा दूरदर्शिताको आवश्यकता औँल्याए । पुरानो संस्कारबाट माथि उठ्न नसक्दा मुलुकले विकासलको गति लिन नसकेको भन्दै उनले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न त्यही किसिमको पारिश्रमिक एवम् उत्प्रेरणा आवश्यक हुने बताए ।

सिङ्गापुरका प्राध्यापक डा गारी लिटले नेपाल साधनस्रोतले सम्पन्न देश भएको बताउँदै पोखरा विकासको पर्याप्त सम्भावनायुक्त ठाउँ भएको बताए । पोखराको तुलनामा सिङ्गापुर केही नभएको बताउँदै उनले यहाँका प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गर्न सके मात्र पनि विकासमा ठूलो फड्को मार्ने धारणा राखे ।

दीर्घकालीन सोचका साथ मुलुकमा गुणस्तरीय शिक्षासहित शान्तिसुरक्षाको प्रत्याभूति दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिने बताउँदै उनले विकासका लागि सही तथ्याङ्क अर्को महत्वपूर्ण विषय भएको उल्लेख गरे ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले भौगोलिक अवस्थितिसमेतका आधारमा विकासका योजना अघि बढाइने बताए ।