अन्तर्राष्ट्रिय

प्रहरी चौकीमा आक्रमण, आठ प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सन् २०१४ को अन्त्यदेखि ‘अफगान युद्ध’ को नीतिमा फेरबदल गरेको नेटोआवद्ध संयुक्त गठबन्धनले अफगानिस्तानमा तैनाथ सेनाको संख्या कटौती गर्नुका साथै गाउँगाउँमा सेनाको गस्ती वा प्रत्यक्ष संलग्नता त्यागेको थियो । पछिल्लो समय नेटो आबद्ध सेनाले अफगानी सेनालाई तालिम र हवाई सहयोग गरिआएको छ ।

अफगानिस्तानमा पछिल्ला दिनहरुमा तालिबान समूह र इस्लामिक स्टेट्सलगायतका आतङ्ककारी समूहहरुले अफगान सेना र प्रहरीमाथि भीषण आक्रमण गर्नुका साथै देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । अतिवादी समूहको आक्रमणबाट अफगानी सर्वसाधारण र सुरक्षाफौजमा व्यापक क्षति भएको छ ।

सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्तिया प्रान्तको गार्डेज शहरको एक प्रहरी कार्यालयमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो ।

सन् २०१७ अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा सैनिक पोशाकमा प्रवेश गरेका तालिबान लडाकूहरुले चलाएको गोलीबाट मस्जिद र भोजन हलमा रहेका निहत्था एकसय ४४ जना सैनिकको हत्या गरेका थिए ।

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरूले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको थियो । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए ।

मे ३१ तारिखमा अफगानिस्तानको राजधानी काबुलमा भएको एक अर्को भीषण ट्रक बम हमलामा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौं घाइते भएका थिए ।