शिक्षा

चिकित्सा क्याम्पसको नयाँ भवन शिलान्यास

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) महाराजगञ्ज चिकित्सा क्याम्पसको शैक्षिक एवं प्रशासनिक भवनको शिलान्यास भएको छ । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाले शिलान्यास गरेको सो ७ तले भवन ४२ करोड ३२ लाख ६८ हजार ७७९ रुपैयाँको लागतमा बन्ने भएको हो ।

उपकुलपति प्रा डा. खनियाले नयाँ बन्ने भवनले महाराजगञ्ज क्याम्पसको शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा व्यक्त गरे । सबैको मिहेनत र क्रियाशीतलाबाट अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण हुन लागेको भन्दै उनले महाराजगञ्ज क्याम्पसलाई परिसरमा मात्रै सीमित नभई कीर्तिपुरमा समेत आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा जगदिशप्रसाद अग्रवालले भौतिक पूर्वाधारको अभावकै कारण विद्यार्थीको कोटा बढाउन नसकिरहेको अवस्थामा अब बन्ने भवनले चिकित्सा शिक्षाका विद्यार्थीको कोटा बढ्ने र गुणस्तरीय शिक्षासमेत उपलब्ध गराउने वातावरण सिर्जना हुने बताए । महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख प्रा डा प्रतापनारायण प्रसादले विविध चुनौतिको बाबजुद एउटा सुुविधा सम्पन्न भवन निर्माणको शिलान्यास गर्न सक्षम भएकोमा खुशी व्यक्त गरे।