राजनीति

‘जनस्वास्थ्य विधेयक, २०७५’ पारित

काठमाडौँ । ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिए । विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे । सांसदका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए। रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो । बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।