कर्णाली प्रदेश

विद्युत् सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित

जाजरकोट । गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे, ल्याब सेवालगायत अन्य सेवासमेत प्रभावित भएका छन् । लामो समयदेखि विद्युत् सेवा सुचारु हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित भएको हो । दैनिक एक्सरेका लागि आउने बिरामीलाई विद्युत्को अभावमा सेवा दिन मुस्किल भएको केन्द्रले बताएको छ ।

एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ । दैनिक सेवा लिन आएका स्थानीयहरु हैरान भएका छन् । यहाँ रहेको छापाखाना समेत वन्द भएको छ ।

जेनेरेटर चलाएर केही समय सेवा प्रवाह गरेपनि अधिकांश समय सेवा प्रभावित हुँदै आएको छ । नेपाल प्रहरीको सञ्चार सेवासमेत विद्युत् आपुर्ति नहुँदा अवरुद्ध भएको छ । विद्युत् नहुँदा यहाँका स्थानीयहरु मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्नसमेत नपाएको कालीमाटीका शिक्षक दिनेश ओलीले बताए । नगरपालिकाकाभित्रका सबै सरकारी सेवासमेत ठप्प भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलका अनुसार नलगाड नगरपालिकामा विद्युत् सेवा सुचारु गर्न ऊर्जामन्त्री वर्षमान पुनले विद्युत् प्राधिकरणलाई तत्काल ३० वटा पोल र आवश्यक मात्रामा तार उपलव्ध गराउन आदेश दिए ।

आज नै विद्युत् प्राधिकरणले नेपालगञ्ज कार्यालयलाई पोल र तारका दिन परिपत्र गर्ने उनको भनाइ छ । आज नै आवश्यक सामग्री लिएर जाजरकोट जाने तयारी भएको रावलको भनाइ छ । यहाँका तीनबाट विद्युत् आयोजनामा भएको क्षतिको मर्मत स्थानीय तहबाट सो गर्न बजेट अपुग हुने भएपछि केन्द्रसँग आग्रह गरिएको नलगाडका नगरप्रमुख टेकबहादुर रावलले बताए ।