कर्णाली प्रदेश

कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गरेका छन् । बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उनले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुनेका थिए ।

मन्त्री भण्डारीले भने, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने छ ।

मन्त्री भण्डारीलाई कैदीबन्दीले भौतिक संरचनाको जीर्णोद्वार हुन नसकेको, खानेपानीको समस्या भएको, शौचालय थोरै भएको, कानूनी उपचार गर्ने वकिलको अभाव भएकोजस्ता गुनासो गरेका थिए । करीब २०० कैदीबन्दी रहेको उक्त कारागारको मर्मत र अन्य व्यवस्थापनका लागि रु २२ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

कारागार अवलोकनमा मन्त्री भण्डारीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक वसन्त रजौरेलगायत गृह प्रशासनका अधिकारीको उपस्थिति थियो ।

मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु

बिहीबार सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका–५ का एक वर्षीय बालक अविशेष ढुङ्गानाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बिहीबार पञ्चपुरी नगरपालिका–५ स्थित हाइस्कूलको चतुरेचोकबाट बाबियाचौरतर्फ आउँदै गर्दा बा४८प ७६२२ नं को मोटरसाइकलले मृतक बालक सहित उनका बाजे ५० वर्षीय उदय ढुङ्गाना र बज्यै ४८ वर्षीया विष्णा ढुङ्गानालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार बिहीबार नै घाइते अविशेषको उपचारको क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बालकको शव परीक्षणका लागि शवगृहमा राखिएको छ ।

रोशनी अटो मोबाइल्समा काम गर्ने मोटरसाइकल चालक अर्जुन साहले ठक्कर दिँदा ढुङ्गाना घाइते भएका ढुङगानादम्पतिको अवस्था गम्भीर रहेको र घाइते चालक साहको पनि उपचार भइरहेको जनाइएको छ ।