प्रदेश 2

खुला दिसामुक्त हुन सकेन मलङ्गवा

सर्लाही । जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४/७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताए ।

साविक मलंगवाका आधिकांशले आफै शौचालय बनाएका छन् । अहिले थपिएको मलंगवा नगरपालिकाको ग्रामिण क्षेत्रमा केही समस्या थियो । जनप्रतिनिधि आएपछि शौचालयको नाउँमा आफ्नो नजिकका केही व्यक्तिलाई शौचालयका लागि रिङ वितरण गरिए पनि त्यो रिङसमेत उपयोगमा आउन सकेको मलंगवा–८ का सुभाष गुप्ताले उल्लेख गरे ।

उक्त कार्यक्रमका लागि छुट्याइएको रकम दुरुपयोग गर्न झुटा कागजात तयार गरिएको र केही व्यक्तिलाई वितरण गरिएको रिङ पनि गुणस्तरहिन रहेको उनको भनाइ थियो ।
समाजमा चेतनाको अभाव र नगरपालिकाको कमजोरीका कारण सदरमुकाम खुला दिसामुक्त हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख जग्गनाथ पुर्वेले बताए। पहिलेदेखि नै मलंगवालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न चुनौती थियो । नयाँ संरचनानुसार अझ चार गाविस थपिँदा झन समस्या भएको उनको भनाइ थियो । जिल्लाका अन्य स्थानीय निकाय खुला दिसामुक्त हुदाँ पनि सदरमुकाममा पछि परेकामा नगरवासी निराश छन् ।
खुला दिसामुक्तको रकम आफूले अनियमिता नगरेको तर १२ वटै वडालाई रू १० लाख देखि रू १५ लाखसम्म उक्त अभियानका लागि दिइएको नगर प्रमुख निरशल साहले बताए ।
खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले उक्त नगरपालिकालाई खुला दिसामुक्त गराउनका लागि जोड दिँदा उनले यसका लागि ठूलो रकम बिनियोजन गरिएकाले आर्थिक वर्ष २०७४/०७५ भित्रै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो तर समय सकिँदा पनि कार्यक्रम कार्यन्वनमा चासो दिइएन । जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानीय तह खुला दिसामुक्त भईसकेका र १० वटा अझै घोषणा हुन बाँकीरहेकामा सदरमुकाम मलंगवासहित पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।