आर्थिक

उद्योगको रु ६४ लाख बक्यौता

राजविराज । गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका १८ उद्योगले हालसम्ममा रु ६४ लाख ३९ हजार बक्यौता असुल गर्न बाँकी छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित उक्त औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट सो रकम असुल गर्न बाँकी रहेको कार्यालय प्रमुख दीपक आचार्यले जानकारी दिए । हाल चार उद्योग सञ्चालनमा, दुई खारेज, दुई निर्माणाधीन तथा तीन बन्द अवस्था छन् । सात उद्योग विस्थापित भएका छन् ।

ज्योति प्लाष्टिक उद्योग, मिलन डेरी एण्ड फुड्स, कोशी पोलिमर्श र महालक्ष्मी पेट उद्योग मात्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका उद्योगकोसमेत बक्यौता बाँकी छ । पद्यमज्योतिबाट रु ६ लाख ८७ हजार, कोशी पोलिमर्शबाट रु ८२ हजार र महालक्ष्मीबाट रु छ लाख ७५ हजार असुल गर्न बाँकी छ । सम्झौता खारेज गरी कारवाहीमा परेका एसएण्डएसको रु ११ लाख २२ हजार र महालक्ष्मी खाद्य उद्योगको रु नौ लाख ४३ हजार बक्यौता बाँकी छ ।

निर्माणाधीन कान्तिपुर प्लाष्टिक उद्योगको रु ५० हजार तथा उषा जल उद्योगको रु २३ हजार असुल गर्न बाँकी छ । बन्द रहेका ‘अल नेपलिज टि एण्ड कफी’को रु छ लाख ४८ हजार, कृष्णा खाद्य उद्योगको रु आठ लाख २२ हजार तथा माँ भगवती कृषि टमाटो फुड्सको रु चार लाख ७६ हजार बक्यौता बाँकी छ । घरेलु तथा साना उद्योग रु ४८ हजार, जिविस प्रालिको रु नौ हजार, नेपाल आयुर्वेदिक मेडिसिनको रु तीन लाख ८८ हजार, क्राफ्ट उद्योगको रु दुई लाख ४८ हजार, बोनमार्स डिजाइनको रु दुई हजार, महालक्ष्मी कार्डबोर्ड उद्योगको रु ६५ हजार तथा औद्योगिक विकास निगमको रु एक लाख ४४ हजार बक्यौता बाँकी रहेको आचार्यले बताए। विसं २०४४ मा भारतको सहयोगमा २२ बिघा जग्गामा स्थापना गरिएको सो औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।