राजनीति

काङ्ग्रेस केन्द्र्रीय कार्यसम्पादन समिति गठन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कार्य सूची रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यसबाहेक मुलुकको समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

यसअघिको केन्द्रीय कार्यसमिति बैठकमा नै अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन गठन गर्ने भनिएपनि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा गठन हुन सकेको थिएन । संस्थापन पक्षले अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिने तथा सदस्यमा वीरबहादुर बलायर र किशोरसिंह राठौरलाई तोक्ने तयारी गरेको बुझिएको छ । अनुशासन समितिको संयोजकमा वरिष्ठ नेता पौडेल पक्षको पनि दावी रहेको बुझिएको छ ।

पार्टी विधानको दफा २९ मा केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । विधानअुनसार केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी (सभापति, उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र प्रवक्ता) पदेन सदस्य हुन्छन् । यसबाहेक केन्द्रीय कार्यसमितिले आफूमध्येबाट बढीमा २२ सदस्य चयन गर्ने विधानमा व्यवस्था छ । विधानअनुसार केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्नेछ ।

यसअघि पार्टीले गठन गरेको केन्द्रीय कार्यसम्पादन समिति विधान विपरीत भएको भनी आलोचना भएपछि विघटन गरिएको थियो । विधानको दफा ३३ मा केन्द्रीय अनुशासन समिति गठनको व्यवस्था छ । विधानअनुसार अनुशासन समितिमा एक संयोजक र चार सदस्य रहन्छन् ।

केन्द्रीय समिति १५१ सदस्यीयसम्म बनाउने सुझाव

पार्टीको विधान समयानुकूल परिमार्जनका लागि प्रारम्भिक मस्यौदा तयार गर्ने क्रममा काङ्ग्रेसको केन्द्रीय कार्यसमिति ११० देखि १५१ सदस्यीयसम्म बनाउन सुझाव आएको छ । त्यस्तै आठ तहका पार्टी संरचना बनाउने गरी काङ्ग्रेसले विधान संशोधन मस्यौदाको तयारी गरेको छ ।

केन्द्रीय समितिमा पदाधिकारी निर्वाचित वा मनोनीत दुवै विकल्पका बारेमा समेत छलफल अघि बढेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा यही भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समिति गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधार तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको छ । काङ्ग्रेस नेता एवं विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले समितिले प्रारम्भिक मस्यौदालाई तीन दिनभित्र एकीकृत गरी प्रदेशस्तरको छलफलमा लैजाने बताए । “केन्द्रीय कार्य समितिको सङ्ख्याका बारेमा प्रारम्भिक चरणमा विकल्पसहित मस्यौदा गरिरहेको छौँ”, उनले भने ।

प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गर्ने नेता लेखकले बताए । मुलुकको नयाँ संरचनाअनुसार काङ्ग्रेसले वडा तहभन्दामुनि बुथ, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र तहसम्मको संरचना र केन्द्रीय समितिभन्दा माथि महाधिवेशन तथा महासमिति रहने गरी पार्टी संरचना बनाउने बारेमा छलफल जारी रहेको उनले बताए ।

समितिले संशोधन मस्यौदालाई थप व्यवस्थित बनाउन केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरको संयोजकत्वमा संरचनासम्बन्धी, डा. मीनेन्द्र रिजालको संयोजकत्वमा कार्य विभाजन र मानबहादुर विश्वकर्माको संयोजकत्वमा अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरेको थियो । तीन उपसमितिले आफ्नो जिम्मेवारीअनुसारको मस्यौदा तयार गरी मूल समितिमा बुझाइसकेका छन् । समितिले प्रारम्भिक मस्यौदामा पहिलो चरणको छलफल गरिसकेको नेता लेखकले जानकारी गराए । बुधबार मात्र समितिले पार्टी सभापति शेरबहादुर देउवा, पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग उक्त मस्यौदामाथि छलफल गरेको थियो । उनीहरुले त्यसमा सैद्धान्तिक राय प्रस्तुत गरेको पार्टी कार्यालयले जनाएको छ ।

यही भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।