राजनीति

गृहमन्त्रीले निर्मला हत्याकाण्डबारे जवाफ दिने भएपछि कांग्रेसको अवरोध हट्यो

काठमाडौं । गृहमन्त्रीले शुक्रबार निर्मला हत्याकाण्डबारे जवाफ दिने भएका छन् । सरकारको उक्त प्रतिबद्धतापछि प्रमुख विपक्षी दलले गर्दै आएको संसदको अवरोध हटेको हो । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको थियो ।

काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको थियो ।

बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको हो ? जवाफ दिन सरकारसँग माग गरेका थिए ।

उनले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताएका थिए । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठेका थिए । यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गर्नुभएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले सरकारले उपर्युक्त समयमा जवाफ दिनेछ, सरकारको जवाफ आउने छ ,सरकारको ती विषयमा जवाफ आउनेमा म विश्वस्त छु भने ।

सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहेकाले बैठक दश मिनेटका लागि स्थगित गरेका थिए ।