राजनीति

निर्माण व्यवसायी महासंघको अधिवेशनमा देउजा र थापाको उम्मेदवारी घोषणा

भक्तपुर । नेपाल निर्माण व्यवसायी महासंघको आगामी आश्विन ४, ५ र ६ गते काठमाडौंको प्रज्ञा भवनमा हुन गइरहेको २०औं साधारणसभा एवम् ११औं महाधिवेशनमा महासंघका वर्तमान महासचिव रामशरण देउजाले अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन्। निर्माण व्यवसायी संघ भक्तपुरले आयोजना गरेको व्यवसायी भेलामा देउजाले उम्मेदवारी घोषणा गरेका हुन् । महासचिव देउजाले ‘अहिलेको आवश्यकता युवाहरुको सामूहिक नेतृत्व र एक्यबद्धता, अग्रजहरुको सम्मान र व्यवसायिक अनेकताभित्रको एकता, बिकेन्द्रिकरण र अवसरको सुनिश्चितता यहि हो मेरो प्रतिवद्धता’ भन्ने नाराका साथ निर्वाचनमा उम्मेदवारका रुपमा खडा हुन लागेको जानकारी दिए ।
उनले मुलुक समृद्धिको यात्रामा अगाडि बढेको अवस्थामा समृद्धिको प्रमुख आधारका रुपमा रहेका निर्माण व्यवसायीहरुको छाता संस्था निर्माण व्यवसायी महासंघलाई अहिले सर्वसम्मत नेतृत्वको आवश्यकता रहेको समेत उल्लेख गरे । महासचिव देउजाले यदि सर्वसम्मत नेतृत्व चयन हुन सक्ने अवस्थामा भने आफु सहमतिको बाधक नबन्ने समेत प्रष्ट पारे ।
भेलामा महासंघका पूर्व केन्द्रिय सदस्य तथा भक्तपुर संघका सल्लाहकार बिरेन्द्र थापाले महासंघको महाधिवेशनमा प्रदेश नं. ३ को तर्फबाट उपाध्यक्ष बन्ने घोषणा गरेका छन् ।
उहाँहरुको उम्मेदवारीलाई जिल्ला संघले एकताबद्ध भएर सहयोग गर्ने जनाएको छ । भेलामा निर्माण व्यवसायी संघ प्रदेश नं। ३ का पूर्व अध्यक्ष कृष्णलाल भँडेल, संघका संस्थापक अध्यक्ष मधुराम लामिछाने, पूर्व अध्यक्षहरु केशव न्यौपाने, राजाराम न्हिसुतु, वर्तमान अध्यक्ष निरञ्जन बजगाईलगायतले देउजा र थापाको उम्मेदवारी व्यक्तिको मात्र नभै भक्तपुर निर्माण व्यवसायी संघकै उम्मेदवारी र प्रतिष्ठाको बिषय भएकाले एकताबद्ध भएर दुवै उम्मेदवारलाई निर्वाचित गराउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।