समाचार

स्वास्थ्यमन्त्री यादवको घोषणाः यस बर्ष बाह्र सय स्वास्थ्य केन्द्र बनाउछौँ

भक्तपुर । उपप्रधान एव्म स्वास्थ्य तथा जनसङ्यामन्त्री उपेन्द्र यादवले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन सरकारले यस वर्ष मुलुकभर एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने बताएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आजदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सीटी स्क्यान तथा क्याथ ल्याब सेवाको उद्घाटन गर्दै उनले सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सरकारले स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो भने ।

उपप्रधानमन्त्री यादवले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी धेरै समस्या छन् तर चिकित्सकहरु काठमाडौँमा सरुवाको माग गर्दै मन्त्रालयमा ओइरो लाग्ने गर्छ, यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

सरकारी अस्पतालमा अझै डाक्टर पुग्न सकेका छैनन, राम्रो प्रयोगशाला सेवा सबैमा अझै पुग्न सकेको छैन, भवनहरु जीर्ण छन्, राम्रो नर्स, स्वास्थ्यकर्मी पुग्न सकेका छ्रैनन्, उनले भने, “जिल्लामा सरुवा भएर गएका डाक्टर हाजीर भएका दिनदेखि काठमाडौँमा सरुवा हुन माग गर्छन्, राम्रा डाक्टर प्रदेशमा समेत जान मान्दैनन, यस्तो प्रवृत्ति त्याग्नुपर्छ ।”

उपप्रधानमन्त्री यादवले ८५ देखि ९० प्रतिशत जनता गाउँमा बस्ने गरेको तर ८० प्रतिशतभन्दा बढी डाक्टर शहरमा बस्ने गरेको उल्लेख गर्दै गाउँमा जनता धेरै, शहरमा डाक्टर धेरै हुने गरेको छ, यो असमानता हटाउनुपर्ने बताए ।

जनशक्तिको विकास, अत्याधुनिक उपकरण ल्याउन र भौतिक संरचना निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले तराई, पहाड, हिमाललगायत सबै क्षेत्रमा स्वास्थ्य केन्द्र सञ्चालन गरी नागरिकको सहज पहुँच पु¥याउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री यादवले अर्बुदरोग, मुटु, मिर्गौलालगायत जटिल खालका रोगको उपचार गर्न अब विदेश जानु नपर्ने उल्लेख गर्दै नेपालमै सबै रोगको उपचार सम्भव भएको बताए ।

केन्द्र प्रमुख डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म केन्द्रले ५०० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै भारत, पाकिस्तानलगायत विभिन्न देशबाट उपचारका लागि केन्द्रमा बिरामी आउने गरेको जानकारी दिए ।

केन्द्रबाट ३२ हजार बिरामीले वार्षिक रुपमा ओपीडी सेवा लिइरहेको उल्लेख गर्दै १०० शय्याबाट ३०० शय्यामा क्षमता वृद्धि गर्ने केन्द्रको लक्ष्य रहेको बताए । यो केन्द्रलाई सातवटै प्रदेशमा विस्तार गर्न सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा प्रा डा राकेश शर्मा, डा कल्पना श्रेष्ठ, ईन्दिरा प्रधानलाई सम्मान गरिएको थियो । केन्द्रले अब अत्याधुनिक सीटी स्क्यानबाट बिरामीलाई सेवा दिन सकिने र मुटु रोगका बिरामीका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएर उपचार गर्ने भएको छ ।