कर्णाली प्रदेश

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

मुसीकोट । वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम९पश्चिम०को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड आजदेखि सुचारु भएको हो ।

केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर तथा मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनको दोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाइएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए ।

यसअघि पनि पटक पटक पहिरो हटाएर यातायात सेवा सञ्चालन गर्ने गरिएकामा अविरल वर्षाका कारण पुनः पहिरो झरेर अवरुद्ध हुने गरेको थियो ।

तर अब भने वर्षा कम भैसकेकाले मुसीकोट–रुकुमकोट यातायात सेवा नियमित हुने विश्वास गरिएको छ ।
रुकुम (पश्चिम) र (पूर्व) दुई जिल्लालाई जोड्ने यस सडकखण्डको ठाउँ ठाउँमा वर्खाभर पहिरो झर्ने समस्याका कारण यातायात सेवा अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोगेका छन् ।

सिस्ने गाउँपालिका– ६ का विभिन्न ठाउँमा मध्यपहाडी लोकमार्गको दोहोरो कटिङ भैरहेका कारण यो वर्ष यात्रुहरुले बढी नै सास्ती भोगेका हुन् ।