शिक्षा

शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा

इलाम । इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो ।

नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइएकाले घोषणा गरिएको नगरप्रमुख महेश बस्नेतले बताए।

बालबालिका विद्यालय भर्ना भएको १२ वटै वडाका वडाध्यक्षले गरेको सिफारिसको आधारमा घोषणा गरिएको हो । इलाम नगरपालिकामा ५४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये ३१ वटा आधारभूत (१–५) कक्षा, (६–८) सम्मका १० वटा र माध्यमिक तह कक्षा (९–१०) १३ वटा रहेका छन् । यहाँका सामुदायिक विद्यालयमा पाँच हजार ३१ जना विद्यार्थी छन् ।

विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्नका लागि अभिभावकलाई जनचेतनामूलक अभिमुखिकरण, अन्तरक्रिया कार्यक्रम गर्नुपर्नेमा प्रमुख बस्नेतले जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ तथा जिशिअ होमनाथ भण्डारीले इलाम नगरको सम्पूर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको र कोही पनि बालबालिका विद्यालय बाहिर नरहेकोले अब उनीहरूमा पठन संस्कृतिको विकास र विद्यालयमा टिकाइ राख्ने किसिमको शिक्षा दिनु जरूरी रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय भर्ना अभियान नै सञ्चालन गरेका थिए ।