पर्यटन/संस्कृति

तराईमा पनि इन्द्रपूजा गरिने

सुखीपुर । विगतका वर्षझैँ यस वर्ष पनि सिरहाको सुखीपुरलगायत स्थानमा विविध कार्यक्रमका साथ आगामी असोज ८ गते इन्द्रपूजा मनाइने भएको छ ।

इन्द्रपूजा समिति सुखीपुरका अध्यक्ष बण्टीकुमार गुप्ताले सुखीपुरमा इन्द्रपूजा महोत्सव दश दशकदेखि मनाउँदै आइरहेको बताए । सोही दिन काठमाडौँ उपत्यकामा इन्द्रजात्रा मनाइन्छ ।

मेलाका प्रमुख आकर्षणमा मैथिली सांस्कृतिक कार्यक्रम तथा स्थानीय लोकनाचका झाँकी हुने बताइएको छ । मेला हेर्न नेपाललगायत सीमावर्ती क्षेत्र भारत मधुवनी जिल्लाका दर्शनार्थीको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।

इन्द्रपूजामा आनन्द पूजन कार्यक्रम बिहान १० बजे प्रारम्भ गरिने शुद्ध योग रहेको सुखीपुर इन्द्रपूजा मन्दिरका पुजारी रामेश्वर गिरीले बताए।