गण्डकी प्रदेश

अस्पताल महिनौँदेखि यस्तो अवस्थामा

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ ।

प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उहाँको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन् । बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउछन् ।

हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ । कर्मचारी र स्वास्थ्यकर्मीले काम गर्न अटेर गर्न थालेका छन । अस्पतालका स्रोत साधनको दुरुपयोग हुन थालेको छ । निगरानी र नियन्त्रण नहुँदा सेवा प्रवाह कमजोर बन्न थालेको सर्वसाधारणको गुनासो छ । नेतृत्वको अभावमा काम गर्न कठिनाइ भएको मेडिकल अधिकृत बिराट शर्माले बताए ।

“दरबन्दीअनुसार चिकित्सक नहुँदा काम गर्न समस्या भएको छ”, उनले भने, “प्रदेशको विभागीयमन्त्री र सङ्घीय मन्त्रालयलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।” आर्थिक विषयमा निमित्तलाई निर्णय गर्ने अधिकार नहुँदा एम्बुलेन्ससमेत मर्मत गर्न सकिएको छैन । उपकरण र जनशक्ति तयार भए पनि नेतृत्वको अभावमा डायलाइसिस सेवा शुरु गर्न ढिलाइ भएको छ । रघुगङ्गा गाउँपालिका–३ पिप्ले घर भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माधव सुवेदीका परिवारले अस्पताललाई रु २० लाखभन्दा बढी मूल्य पर्ने दुई थान डायलाइसिस उपकरण उपलब्ध गराएका छन् ।

जनशक्तिको व्यवस्था र उनीहरूलाई तालीमसमेत दिएर डायलाइसिस सेवा शुरु गर्ने तयारी गरे पनि नेतृत्व गर्ने व्यक्ति नहुँदा अन्योलता भएको अस्पतालका चिकित्सक नवराज बास्ताकोटीले बताए । तीन वर्षअघि पचास शय्यामा स्तरोन्नति भएको अस्पतालमा चार मेडिकल अधिकृत र नौ विशेषज्ञ चिकित्सको दरबन्दी छ । हाल दुई मेडिकल अधिकृत र एक विशेषज्ञ चिकित्सक मात्र कार्यरत छन् । दुई मेडिकल अधिकृत अम्बालिका शाक्य र हेमा जोशी अध्ययन बिदामा छन् । हालै स्वास्थ्य मन्त्रालयबाट सरुवा भएका तीन चिकित्सक काज मिलाएर पोखरा बसेको अस्पताल प्रशासनले जनाएको छ । रेडियोलोजिष्टको अत्तोपत्तो छैन ।

खेल मैदान निर्माण

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा खेलमैदान निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीको श्रमदान र चन्दाबाट वडा कार्यालय परिसरमा खेलमैदान निर्माण गरिएको हो ।

ढलान गरिएको खेलमैदान स्तरोन्नतिका लागि रु ११ लाख खर्च भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर मल्लले बताए । गाउँपालिकाको रु छ लाख, नवसन्तोष युवा क्लबको रु दुई लाख, स्थानीयवासीको रु एक लाख ५० हजार चन्दा तथा रु एक लाख ५० हजारबराबरको श्रमदानबाट मैदान निर्माण भएको हो । मैदानमा बास्केटबल, भलिबल, कबड्डीलगायत खेल सञ्चालन गर्न सकिने अध्यक्ष मल्लले बताए । खेलमैदान निर्माण भएपछि खेलकूद प्रतियोगिता सञ्चालन र खेल अभ्यास गर्न सहज भएको छ । यसअघि हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या थियो ।