समाचार

सांसद पाण्डेले केसीको राजीनामा र तरुण दल नगर अध्यक्षको हत्या प्रति गराए सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बद्री पाण्डेले छानबिन समितिका सदस्य केसीले असुरक्षाको कारण देखाउँदै राजीनामा दिनु गम्भीर विषय हो भने । उपसचिव केसीले निष्पक्ष छानबिन हुन नसक्ने देखिएपछि राजीनामा दिएको अभिव्यक्तिका सम्बन्धमा गृहमन्त्रीसँग ठोस जवाफ माग गरे ।

सांसद पाण्डेले नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको ‘सत्ताधारी दलका कार्यकर्ताको गोली प्रहारबाट हत्या भएको’ घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारवाही र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको माग गरे ।

सांसद नन्दा चपाईंले सो घटनाका सम्बन्धमा हालसम्म पनि अपराधी पत्ता नलाग्नु गम्भीर हो भन्दै यस्ता घटनाका सम्बन्धमा राज्य गम्भीर भई नियन्त्रणका लागि तीनै तहका सरकारी संयन्त्रलाई परिचालन गर्नुपर्ने औँल्याए । सांसद महेशकुमार महराले डडेल्धुरामा विसं २०६२ मा बाढीबाट पीडितको हालसम्म पनि व्यवस्थापन हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानको माग गरे ।

उनले कञ्चनपुरको घटनाको छानबिन समितिका सदस्य केसीलाई आएको धम्कीप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले मुलुकको पश्चिमी भूभाग कालापानी नेपालको नक्शाबाट हटाइएको भन्ने विषयप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद वृषेशचन्द्र लालले सङ्घ र प्रदेश सरकरबीच समन्वय गर्न संविधानले व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को हालसम्म बैठक बस्न नसक्नु र यसमा केन्द्र सरकार उदासीन हुनु सङ्घीयता विरोधी काम भएको भनी टिप्पणी गरे ।

सांसद प्रमिलाकुमारी यादवले प्रधानमन्त्रीले उत्पीडित समुदायका पक्षमा संविधान संशोधनमा प्रतिबद्धता जनाए पनि हालसम्म कुनै पनि काम अघि नबढाएको भनी गुनासो गरे । साथै उनले आफू राष्ट्रियसभामा दलका नेताको पाउनुपर्ने सुविधाबाट वञ्चित भएको भन्दै आपत्ति प्रकट गरे ।

सांसद विमला पौडेलले नेपालका गोदाममा चिनी हुदाँहुदैँ विदेशबाट चिनी ल्याउनु उचित नभएको बताए । उनले पन्तको बलात्कारपछि हत्याका सम्बन्धमा छानबिन गर्न गठित समितिमा स्थानीय जनप्रतिनिधि र महिला अधिकारकर्मीको पनि सहभागिता भए छानबिन प्रभावकारी हुने सुझाव दिए ।

सांसद बिना पोखरेलले गत चैतदेखि असार मसान्तसम्म १५० भन्दा बढी महिलामाथि हिंसा र बलात्कारका घटना भएको उल्लेख गर्दै यस्ता अमानवीय घटनालाई राजनीतिक स्वार्थसँग जोड्न नहुने बताए ।

सांसद राधेश्याम अधिकारीले ‘खोजतलास डटकम’का सम्पादक राजु बस्नेतलाई समाचार अन्यबाट लिएका आधारमा थुनामा राखिएको प्रति आपत्ति प्रकट गर्दै समाचार लेखेकै र लिएकै आधारमा पक्रन नमिल्ने भनी अविलम्ब रिहा गर्न माग गरे । सांसद युटोल तामाङले बौद्ध धर्मालम्बी विद्यार्थीको पढाइ खाजाका कार्यक्रममा खर्च कटौतीका सम्बन्धमा सरकारसँग स्पष्ट धारणा माग गरे । गुम्बा शिक्षाको उचित व्यवस्थापन र बालबालिकाको छात्रवृत्तिको व्यवस्थाको पनि उनले माग गरे ।