कृषि

हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पु¥याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ ।

हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार (इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ ।

तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ । “मानवीय, भौतिक र कृषिजन्य वस्तुमा हात्तीले पु¥याउने क्षति कम गर्न विद्युतीय तारबार गर्ने तयारी गरेका छौंँ” नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने ।

नगरपालिकाको रकमले मात्रै पूरै क्षेत्रमा विद्युतीय तारबार गर्न सम्भव नभएकाले प्रदेशसभा सदस्य लालबहादुर खड्कासँग यस विषयमा छलफल गर्दा उनले सहयोगको अश्वासन दिएको पनि नगर प्रमुख चन्दले जानकारी दिए । गतवर्ष मात्रै नगरपालिकाको रु १० लाखको लागतमा हात्तीको झुण्ड छिर्ने केही ठाउँमा विद्युतीय तारबार गरिएको थियो ।

गत शनिबार मात्रै हात्तीको झुण्डले नगरपालिका–१० अन्तर्गत पर्ने चथरी र नयाँ गाउँका एकदर्जन बढी किसानले लगाएका धानबालीमा खाएर र कुल्चेर नोक्सानी पु¥याएको थियो । तीन दिनदेखि लगातार नयाँ गाउँ र चथरीका किसानको खेतमा छिरेर हात्तीको झुण्डले नोक्सानी प¥ुयाउँदै आएको वडा अध्यक्ष गणेश विकले बताए ।

मेहनत गरी लगाएको धानबाली हुर्कदै गएका बेला हात्तीले नोक्सानी पु¥याउन थालेपछि चिन्तित भएका स्थानीय किसान वर्षाको पर्वाह नगरी किसान रातभर तीनलाई भगाउन जाग्राम बस्ने गरेका छन् ।

पाँच वर्षयतादेखि लगातार भारतको दुधुवा नेशनल पार्कबाट निकुञ्ज हुदैँ बस्तीमा छिर्ने हात्तीको झुण्डले धान र गहुँबालीमा नोक्सानी गर्दैआएकाले तीनलाई भगाउन स्थानीय प्रशासनले सुरक्षाकर्मीसमेत परिचालन गर्दै आएको छ ।

प्रदेश नं ७ का प्रदेशसभा सदस्य लालबहादुर खड्का, नगर प्रमुख चन्द र वडाध्यक्ष सहितको टोलीले शनिबार हात्तीले नोक्सानी पु¥याएको किसानको खेतको निरीक्षण समेत गरेका थिए ।

पचास परिवारको धानबालीमा नोक्सानी

कञ्चनपुरको भीमदत्तनगरपालिका– ९ स्थित चुरे क्षेत्र भएर बग्ने तिलाते र गहुँताणी खोलाको बाढीले ५० बढी घरपरिवारको धानबालीमा बालुवा थुपारेर नोक्सानी पु¥याएको छ ।

वडाध्यक्ष राम नाथकाअनुसार तीन दिनअघि तिलाते खोलामा आएको बाढीले १५ र गहुँताणी खोलामा आएको बाढीले ले ३५ परिवारको धानबालीमा क्षति पु¥याएको थियो । बाढीले माटो, ग्राभेल ल्याएर धान रोपेको खेतमा थुपारेपछि किसानको मेहनत खेरगएको अध्यक्ष नाथले बताए ।

स्थानीयवासीको पाँच बिगाहा भन्दा बढी जमीनको धानबाली नोक्सान भएको कार्यबाहक नगर प्रमुख भीमबहादुर शाहुले बताए । निरीक्षणका क्रममा पाँच बिगाहा भन्दा बढी जमीनमा लगाएको धानबाली नोक्सान गरेकाले धान काम नलाग्ने भएको उनले जानकारी दिए ।

बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ । आफ्नो भएको एक बिघा जमीनमा लगाइएको धानबाली सखाप भएकाले परिवार पाल्न पनि कठिन हुने उनको गुनासो थियो ।

चुरे क्षेत्रमा अत्यधिक वर्षापछि ती दुबै खोलामा बाढी आएको थियो । विगतमा बाढीले समान्य क्षति हुँदै आएकोमा यसवर्ष ठूलो क्षति पु¥याएको हो ।