मनोरञ्जन

राणी सती दादी महोत्सव भब्य, ५०१ महिलाले गरे कलस यात्रा 

काठमाडौं । राणि सती सेवा संघले राणी सती दादीको बार्षिकोत्सव यस बर्ष भब्य रुपमा मनाएको छ । हरेक बर्ष भाद्र औंशीका अबसरमा राणी सतीको बार्षिकोत्सव भादी मावस पर्वका रुपमा मनाइन्छ ।
यस बर्ष उक्त पर्वको पूर्व सन्ध्यामा ५५१ जना महिलाहरुले खाली खुट्टा कलस बोकेर नगर परिक्रमा गरेका थिए । विभिन्न बाजागाजासहित सुरज आर्केडबाट सुरु भई कलस तथा ध्वजायात्रा हनुमान ढोका, न्युरोडहुँदै कमलपोखरीको अग्रवाल भवनमा पुगेर टुंगिएको थियो ।
सुरज आर्केडबाट महिलाहरुद्वारा ल्याईएका ५५१ कलशद्वारा दादीजीको महाअभिषेक गरि वैदिक विधिपूर्वक पूजाआजा र महाआरती गरि ३६ घण्टे अखण्ड ज्योत प्रज्वलन गरिएको थियो । स्वदेश तथा भारतबाट आएका कलाकारहरुद्वारा नृत्य नाटीका सहित भजन सन्ध्यासमेत गरिएको संस्थाका महासचिव राकेश जालानले जानकारी दिए ।
पौराणिक कथाअनुसार राणी सती माताको बिवाहपश्चात डोलीमा फर्कदा राक्षसहरुबाट आक्रमण भयो । आक्रमणमा उनका पतिको मृत्यु भयो । पतिको मृत्युपश्चात उनले दुर्गाको अबतार लिएर सारा राक्षसको संहार गरिन् । त्यसपछि राणी पतिसँगै सती गइन् । त्यसैले उनलाई कलियुगकी दूर्गा मानेर पूजा गरिन्छ । उनै सतिको सम्झनामा हरेक बर्ष भदौको औशीमा भब्य रुपमा बैदिक विधिपूर्वक पूजा आजा गरिँदै आएको राणी सतीदादी संस्थाका अध्यक्ष अजय जालानले बताए ।
कलस यात्रामा सहभागी ५५१ महिलाले आईतबार राणी सतीदादीको जीवनी बाचन गरेका थिए । उनको जीवनीलाई गायनका माध्यमबाट प्रस्तुत गर्न भारतबाट कलाकार आएका थिए । निरंतर ३६ घन्टासम्म चलेको यस कार्यक्रममा विभिन्न धर्मावलम्बीहरु सहभागी भएका थिए ।
राणि सती सेवा संघअन्र्तगतको नारायणी नमोनम भन्ने संस्थाले हरेक महिनाको आंैशिपछिको पहिलो शनिबार १ हजारदेखि २ हजार जनालाई खाना खुवाउँदै आएको संस्थाका अध्यक्ष अजय जालानले जानकारी दिए । यसअघि संस्थाले दुई पटक पशुपतिमा खाना खुवाएको थियो ।
यस पटक अग्रवाल भवनमा आयोजित यस महोत्सवमा सहभागि भक्तजनहरुलाई प्रसाद वितरण गरिएको उनले जानकारी दिए । संस्थाले यसरी सुरु गरेको खाना खुवाउने कार्यक्रममा दाताहरुले चाहेमा एक पटकमा ३ सय रुपैयाँसम्म सहयोग गर्न सक्छन् । राणी सती सेवा संघले २७ बर्षदेखि काठमाडौंमा हरेक बर्ष राणी सतीदादीको बार्षिकोत्सव मनाउँदै आएको छ ।