राजनीति

राजनीतिक सिद्धान्तमा बिकास भएको छ, काँग्रेसले बिपीको बाटो बिराएको छैनः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेता विपी कोइरालाको आदर्श र सिद्धान्तबाट काङ्ग्रेस विचलित नभएको बताएका छन् ।

बिपीको १०५औँ जन्म दिवसका सन्दर्भमा काङ्ग्रेस जिल्ला कार्यसमिति काठमाडौँ, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले काङ्ग्रेसले विपीको बाटो छोड्यो भन्ने द्विविधाबाट मुक्त हुन आमकार्यकर्तालाई आग्रह गरे ।

काङ्ग्रेसले निर्वाचनमा विजयी हुनबाट चुकेपनि राजनीतिक सिद्धान्तमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, “हाम्रा काम गराइ र व्यहारमा भने केही सच्याउनुपर्छ ।”

वरिष्ठ नेता पौडेलले सरकारले नागरिक अधिकारमाथि घुमाउरो पारामा हस्तक्षेप गर्न खोजेको र अदालत, संवैधानिक संस्था एवं कर्मचारीतन्त्रमाथि समेत दबाब सिर्जना गर्न अघि बढेको आरोप लगाए ।
कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले काङ्ग्रेसले विपीको बाटो विराएको भन्ने दुस्प्रचार गरिएको टिप्पणी गर्दै बिपी कै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तको सेरोफेरोमा नेपालको संविधान र अन्य राजनीतिक उपलब्धी हासिल भएको बताए ।

सरकारले संविधानअनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संबैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाउँदै उहाँले सरकार सङ्घीयताप्रति सकारात्मक नदेखिएको मुख्यमन्त्रीहरुबाटै गुनासो आएको उल्लेख गरे ।

काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले बिपीको आदर्शअनुसार नै काङ्ग्रेस चलेको उल्लेख गर्दै तत्कालीन र अहिलेको परिस्थिति मात्र फरक देखिएको धारणा व्यक्त गरे । परिवर्तित सन्दर्भअनुसार काङ्ग्रेस अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापाले बिपीलाई सम्झिदै गर्दा पार्टीलाई सशक्त बनाउन आम नेता कार्यकर्ता अनुशासित र संगठित हुनुपर्ने बताए ।