राजनीति

‘पार्टी सभापतिलाई पूर्ण अधिकार दिनुपर्छ’- युवा नेता खाँण

बुटवल । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीलाई बलियो बनाउन सभापतिलाई पूर्ण अधिकार दिनुपर्ने बताए ।

बिपी जयन्तीका अवसरमा आज बिपी चोकमा आयोजना गरेको कार्यक्रममा उनले सामूहिक नेतृत्वमा जाँदा पार्टी सभापतिको अधिकार कम हुँदा पार्टी नै चलाउन समस्या भएकाले सभापतीय वा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

काङ्ग्रेस नेता खाँणले पार्टीको केन्द्रीय समिति बैठकमा विधानमा नै यस्तो व्यवस्था गर्न विधान समितिमा लिखित धारणा राख्ने र केन्द्रीय समिति बैठकमा कुरा उठाउने बताए ।

उनले सभापति हुने व्यक्तिले पाँच वर्षसम्म निर्धक्कसँग पार्टी चलाउनसक्ने वातावरण बनाउनुपर्ने र अनुसाशन उल्लङ्घन गर्नेलाई कारवाही गर्नुपर्ने बताए । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले अहिले कम्युनिष्ट नेतृत्वको झण्डै दुई तिहाइ बहुमतको सरकार बनेपछि बल्ल कम्युनिष्टसँग मिल्न हुँदैन भन्ने विषय पार्टीका नेताले बल्ल बुझेको बताए ।

कार्यक्रममा काङ्ग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले पार्टीलाई बलियो बनाउन काङ्ग्रेस नेता कार्यकर्ताले बिपीका सिद्धान्तलाई व्यावहारिक पालना गर्नुपर्ने बताए । महासमिति सदस्य बालकुमारी भण्डारीले पार्टीभित्रको गुटको राजनीति अन्त्य हुनुपर्ने बताए।