कृषि

निजी क्षेत्रको लगानीमा तरकारी बजार

चितवन । व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिगाहा जग्गा भाडामा लिई व्यवसायीले आफ्नै लगानीमा रु १६ करोड लगानी गरी तरकारी बजार स्थापना गरेका हुन् । सो बजारमा २१७ कक्ष रहेको छ ।

फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा ७५ व्यवसायीले कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार स्थापना गरेका हुन् । प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बजारभित्र सडक कालोपत्रबाहेक अन्य काम सम्पन्न भएको छ । अगामी असोज १ गतेदेखि बजार सञ्चालनमा आउने छ । व्यावसायिक प्रयोजनका लागि २८, थोकका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ तथा कृषकका लागि १४ सटर रहेका छन् ।

तरकारी बजारमा चिया खाजाका लागि दुई रेष्टुरेण्ट, शौचालय, पर्याप्त पार्किङ तथा खानेपानीको व्यवस्था छ । प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालिमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरूले निर्माण गरेको दाबी गरे । गत फागुनदेखि निर्माण थालिएको सो बजार छोटो अवधिमै सम्पन्न हुन लागेको छ । सो बजारमा चितवनसहित अन्य जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ । फलफूल तथा तरकारी व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका धितालका जुम्ला, मुस्ताङलगायत जिल्लाबाट स्याउ ल्याउने गरिएको छ ।

सो बजारबाट दैनिक ६० टन तरकारी खरिद बिक्री हुँदै आएको छ । सत्तरी प्रतिशत तरकारी बिक्रीका लागि काठमाडौँसहित, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला लगिन्छ । सो तरकारी बजारमा दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।