पर्यटन/संस्कृति

पर्यटन प्रवद्र्धन गरिँदै

लमजुङ । पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एल्बम तयार गर्न थालिएको छ । गीति एल्बममा गाउँको विविधतासँगै स्थानीय संस्कार, संस्कृति, वेशभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातात्विक सम्पदालगायत कुरा समेटेर प्रचारप्रसार थालिएको छ । गीति एल्बमले पर्यटक आगमन बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । गीति एल्बमका कारण पर्यटक आकर्षित भएको सिउरुङ ग्रामीण पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङ बताउँछन् ।

“गीति एल्बममा दृष्य देखेर स्थलगत अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका छन्,” उनले भने । “देश विदेशमा प्रचार–प्रसार गर्न अन्य माध्यमभन्दा गीति एलबम उपयुक्त माध्यम हो,” घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भने । पुरानो कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र जोगाउन सजिलो भएको ताघ्रिङका पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउँछन् । “युवा दिनप्रतिदिन नयाँ–नयाँ कुराको खोजीमा हुन्छन्”, कलाकार विष्णु गुरुङले भने । गीति एल्बम निर्माण हुन थालेपछि नृत्य तथा अभिनयतर्फ युवापुस्ताको आकर्षण बढेको छ । पर्यटन विकास मुलुकको समृद्धिको आधार भएकाले त्यसमा सरकारले लगानी गर्नुपर्ने लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापा बताउँछन् ।

विभिन्न गाउँको बारेमा गीत लेख्ने, त्यही गीतको आधारमा गीति एलबम निर्माण गर्ने तथा गाउँमा आएका पाहुनालाई स्थानीय गीतमै नाचेर स्वागत गर्ने चलन अहिले बढ्दै गएको छ । जिल्लाका घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समीभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँलगायत गाउँमा गीति एल्बम निर्माण गरिँदैछ । अधिकांश गीति एल्बम गुरुङ भाषामा तयार गरिएका छन् ।