विचार/ब्लग

हारवार्ड वा क्यामव्रिजमा अध्ययन गरेका भरमा नेपाल बिकशित हुन्न

वीरभद्र आचार्य/ हे प्रभु, हे विधाता ! तिमीलाई कोटि कोटि धन्यवाद । बिहानको ४ बजेर ३० मिनेट जाँदैछ । आजको दिनको मेरो अभिवादन स्वीकार गर । आज बाबाको मुख हेर्ने दिन भनेर बसुन्धरा कृषिफार्मले आफ्नो बाबाको फोटो हाल्नु भएको रहेछ । मेरो नजरमा आज बिहानीको पहिलो दृश्य नै बाबाको फोटोमा पर्न आयो । धेरै बेर फोटोमा हेरेँ मेरो बाबा पनि त्यहीँ देखेँ, अझ हेर्दै गएँ, हरेक नेपालीका बाबा त्यही फोटोमा प्रतिविम्वित हुँदै गयो । अनि एक पटक दुई हात जोडेर नमन गरेँ । कस्तो सालिनता, कति गाम्भर्यता, कति दुख र कष्ट झेलेको तर विशिष्ट अनुहार । श्रद्धा भावले आखाँवाट दुई थोपा आँसु तुरुक्क झर्यो कम्प्युटरको कि बोर्डमा । एकै छिन अलमलिए, केहिवेरमा सम्हालिएँ । अनि सोचेँ, यी महान् पुरुषहरूको ऋण कसरी तिरी सक्ने हामीले । यिनै पुर्खाहरूले रक्षा गरेर राखी दिएको स्वाभिमानको झिनो डोरीमा झुण्डिएर आज हामी आफूलाई वीर नेपाली भनेर चिनाउँछौँ र दान पात्र लिएर देश देश भन्दै भिक्षा मागेर हिँड्छौँ । हे बाबा ! आज हामीसँग गर्व गर्ने कुरा के नै बाँकी रह्यो र ? तिमिले हालेको जगमा घर त के बन्लार, कम से कम जग मात्र पनि बचाएर राख्यौँ भने हामी पछिका सन्ततिले केही गर्लान की !

वीरभद्र आचार्य

राजा महेन्द्र, वीरेन्द्रले गद्दी सम्हाल्नु अघि र पछि नेपालको कति जिल्ला घुमे होलान् एक पटक किताब पल्टाएर हेर त । तिमीले योजना बनाउने कुर्सी सम्हाल्नु अघि र पछि कति जिल्ला घुम्यौ ? कहिले तराईका ती विरान र पीछडिएका बस्तीहरूमा पुगेका छौ ? या तिमी हरेक नेपालीले हिँडेजस्तै बाँदरेभिर पाखाहरूमा दिदी बहिनी, दाजुभाइहरूसँग पाइलामा पाइला, काँधमा काँध मिलाएर हिँडेका छौ ? या तिमीले सुकेको कोदो वा गहुँको रोटी नुन र खुर्सानीसँग खाएका छौ ? के तिमीले वेलुकीको छाक टार्न दाउरा बोकेर तुईनमा चढेर नदी पार गरेका छौ? दुइ चार गाउँ पसेका छौ, त्यो पनि हेलिक्पटरमा ।

 

आज म गैँडाकोट नगरपालिका वार्ड नं १३ मा छु, जहाँ पाल्पाली राजा मुकुन्दसेनले बनाएको एक विशाल शिव मन्दिरको भग्नावशेष छ । जहाँ युगौँ पुराना सालका विशाल तपस्वी रूखहरू आज पनि तपस्यारत छन् । मन्दिर परिसर भित्र छिर्दा हरेक भक्तजनले एक प्रकारको आध्यात्मिक ऊर्जाले छोपेको अनुभूत गर्छन् । पशुपतिनाथको मन्दिर पूर्व जसरी वाग्मती वग्छीन्, त्यसरी नै मन्दिरवाट दक्षिणमा केही भर–याङ्का खुड्किला ओर्लिनु पर्छ, हालसम्म आफ्नो पवित्रता र अस्मिता कायम राख्न सफल भएकी नारायणी अनवरत बगिराखेकी हुन्छिन् । छिमेकमा बस्ने सबै भक्तजनकी प्रिया छिन् नारायणी कसैको आमाको रूपमा छिन्, जहिले पनि दिइनै राखेकी हुन्छिन्, सट्टामा कहीले पनि केही माग्दिनन्, जल क्रीडा गर्नेहरूको लागि साथी संगी भैदिएकी छीन्, यहाँका बोटे र माझी जातीका परिवारका लागी दैनिक आहाराको श्रोत छिन् । मेरोलागि त नजिककी साथी र सल्लाह तथा ऊर्जाकी श्रोत छिन् । तर दुःखको कुरा, हाम्रो पुस्ताको यिनै रवाफ र नियति रही रहने हो भने एक दिन त्यो शिव मन्दिर पनि रहँदैन न त नारायणी नै रहन्छिन् । झारपातले मन्दिर परिसर छोप्छ, माकुराले रजाइँ गर्छ । नारायणी बाग्मतीमा परिणत हुन्छिन् । अनि फेरी हामी आफ्नो आँगन सफा गर्न विदेशीसँग हात जोर्न गएजस्तै, यहाँ पनि यसै गर्छौँ । जसरी वीर गोर्खालीको गाथा गाएर थाक्दैनौं त्यसरी नै हाम्रापुस्ताले नारायणी नदीको बारेमा भूगोल होइन, इतिहासको किताबमा पढ्न पाउँछन् र गाथा गाउँछन् ।

त्यो पुरातत्व विभाग ! हाँसो उठ्छ, त्यहाँका कर्मचारीहरूले महिनाको तलब बुझ्दा । मेरो एक मित्रले त हिजो मात्र अर्कै सन्दर्भमा भनेका थिए, ‘काम नगरेर यसरी लाज पचाएर तलब खानु भनेको भ्रष्टाचारको अर्को रुपहो’ । के त्यो शिव मन्दिर र वरपरका रूख तथा नदीले संरझण नपाउने । के यो मन्दिरको बारेमा पनि भोलि हाम्रा बाबाका (हाम्रो त भन्न पनि मन लाग्दैन, फेरी हामी जस्तै कृतघ्न निस्केलान् भनेर) सन्तानले ईतिहाका पाना पल्टाएर शिव मन्दिर थियो, सँगै नारायणी नदी पनि बग्थिन् रे भनेर गर्व गर्ने र त्यसको आडमा आजका हाम्रा नेताजीले जस्तै भिक्षा पात्र लिएर हिँड्ने । अथवा संरक्षणको नाममा पशुपतिनाथमा वर्षमा एक पटक सिधा छरे झै २–४ लाख छरेर आफ्नो नालायकी पन छोपेर बस्ने । हे पुरातत्वका साथीहरू हामी सवै नेपाली हौँ । एकले अर्कालाई मद्दत गरे हामी कहिँ पुग्छौँ । जागिर त एकदिन जान्छ नै त्यसपछि गर्न खोजेर पनि सक्दैनौ । कुनैदिन हालका शक्ती सम्पन्न तपाईँ हामीसंगै बसेर कुरा गर्दा आफ्नो नालायकी पन संझेर पछुताउन नपरोस ।

हेर बाबा नेपालको विडम्वना । आफ्नो बल आँक्न नसक्नेले भिक्षाको भरमा देश बनाउँछु भनेर हिँडेका छन् । नेपाली भाइ बहिनीको बल कति छ भनेर एक पटक आँकेर त हेर, तिमी त भारतले यसो गर्यो भारतले उसोगर्यो भनेर आफ्नो नालायकी पन भारतलाई गाली गरेको भरमा छोपेर हिँडेका छौ, के देश चलाउँछौ तिमीहरूले, लुट्ने बाहेक । हारवार्ड वा क्यामव्रिज विश्व विद्यालयमा किताब पढेको भरमा नेपालको योजना बन्दैन भन्ने तिमीलाई थाहा छैन, हो तिमीले ती किताबहरू पढेर तिनै देशको योजना बनाउन मदत गर्न सक्छौ, तर नेपालको भौगोलिक र ऐतिहासिक विषिष्टता नहेरीकन नेपालीको मुटुको ढुकढुकी कसरी बुझ्छौ । राजा महेन्द्र, वीरेन्द्रले गद्दी सम्हाल्नु अघि र पछि नेपालको कति जिल्ला घुमे होलान् एक पटक किताब पल्टाएर हेर त । तिमीले योजना बनाउने कुर्सी सम्हाल्नु अघि र पछि कति जिल्ला घुम्यौ ? कहिले तराईका ती विरान र पीछडिएका बस्तीहरूमा पुगेका छौ ? या तिमी हरेक नेपालीले हिँडेजस्तै बाँदरेभिर पाखाहरूमा दिदी बहिनी, दाजुभाइहरूसँग पाइलामा पाइला, काँधमा काँध मिलाएर हिँडेका छौ ? या तिमीले सुकेको कोदो वा गहुँको रोटी नुन र खुर्सानीसँग खाएका छौ ? के तिमीले वेलुकीको छाक टार्न दाउरा बोकेर तुईनमा चढेर नदी पार गरेका छौ? दुइ चार गाउँ पसेका छौ, त्यो पनि हेलिक्पटरमा ।

अनि नेपाल र नेपालीको दुःखको, या वीरताको के आंंकलन छ तिमीलाई, विदेशीले नेपालको बारेमा लेखेका विदेशी किताबमै रमाउने तिमी । के थाहा छ तिमीलाई ! हरेक नेपालीको रगतमा पुरा विश्वलाई अनुदान थमाउन सक्ने क्षमता छ भन्ने । कहिले तिमीले आँकेर हेर, नेपाल र नेपालीको रगत पसिनाले विश्वलाई के दिन सक्छु भनेर? हे उल्टो बुद्धि भएकाहरू, तिमीहरू त विदेशबाट के पाइन्छ भनेर भिक्षा पात्र पो बनेर हिँड्यौ र कसले बढी भिक्षा ल्याउँछ भनेर अझ प्रतिस्पर्धामा हिँडेका छौ । तिमीहरूले हामी नेपालीको नाक काट्यौ । हेर अव पनि समय छ, मुढे बुद्धिले हुँदैन । यदि नेपालीले नेपाल आमाको लागि गर्ने हो भन्ने हो भने यो हालको कर आत्उङ्कोको त के कुरा, दुई छाकै छोड्न पनि तयार हुन्छन्, तर तिमीलाई सुविधा बढाउन र विदेशिगाडि चढेर हिँड्न होइन । तिमीहरू आजको भोली फाईदा हेर्छौ, अनि कहिले आफ्नो देशको विकास गर्न सक्छौ । एकपटक युरोप अमेरीका तिर फर्केर हेर। सोध तिम्रो कार्यालयमा मा कन्सलटेन्ट भएर आएका ती विदेशीलाई के तिमीहारूको देश कुनै विदेशीले आएर वनाई दिएको हो भनेर । गर्वसाथ भन्छन् होइन, हामीले हाम्रो आफ्नो रगत पसिना वगाएर आफ्नै वलबुतामा बनाएको भनेर । हरेक विदेशी तिम्रो अगाडि जति मुस्कुराहटरुपमा हाँसे पनि मन मनमा तिम्रो नालायकी पन देखेर खितित्त हाँसी रहेको हुन्छ । तिमीले त्यो देख्दैनौ, किनकी तिमीमा त्यो दिव्य दृष्टि नै छैन । विदेशीले तिमीलाई ‘गुड’ भनेर धाप मारी दिन्छ अनि तिमी आफ्नो काविलियतीमा मातिन्छौ, पात्तिन्छौ । घर गएर श्रीमतीलाई गर्व साथ यो कुरा सुनाउँछौ । हो कि होइन, आत्मा साक्षी राखेर भन त ।

तिमीले सुविधा लेउ किनकी तिमी सुविधाभोगीहरू माटोमा डल्ला फुटाउन आउँदैनौ । देखावटी मोज त गर्लाउ आत्मामा चोट लागाएर, तर खाउ, मेरो केहि भन्नु छैन, तर हाम्रा भाइ बहिनीलाई विदेशबाट फिर्ता ल्याउन यस्तो रणनीति र कार्यनीति ल्याऊ जसलाई हरेक युवाले पेट काटेर भए पनि स्वागत गरुन् । युवाहरूलाई बेकम्मा बनाउन इलमको साटो भत्ता बाँड्ने नीति छ अहिले । अनि कसरी पत्याउने हामीले तिम्रो हार्वाडको या कुनै विदेशी डिग्रीलाई ?

बाबा आज म धेरै लेख्दिन । घर र अफिस परिसर कुचो लाउने जिम्मा मेरो छ, लगत्तै बारीमा जानु छ । भटमास त बिग्रियो । यसपालो धेरै पानि परेर माटो थमारदियो धेरै उम्रीन सकेन । आधि उम्रिएकोमा टुषा निस्कने वित्तिकै हाम्रा नेताहरूले जस्तै हाम्रो पसिनामा ढुकुरले मोज गर्यो, त्यो पनि पार मात्र के गरेका थियौँ जँगली खरायोले लुट मच्चायो । यहि हो रमाईलो कृषिमा, चुनौती छन्, दुःख छन्, वाधाहरू छन्, तर स्विकार्य छन् । पशिनामा लतपत्तिएर बनेको सानको र आनन्दको । आत्म सन्तुष्टिको । तकियामा पर्ने वित्तिकै निदाउन सक्ने क्षमताको । यो सत्यको प्रकाशको । नेपालको विकासको मेरूदण्ड कृषि पेशाको । बाबा अव मकै पनि गोड्नु छ । एक हल गोरुको लागि पछि परेको छु, यहाँ त हल गोरुको प्रयोग हराए झैंं भएछ । राजमार्ग पारिका एक मित्रले खवरगर्छु भनेका छन्, आज हेरौँ ।
बाबा आजको दिनमा तपाईँको त्यो शालीन अनुहारले रुवायो । यी मेरा अभिव्यक्तिहरू तीनै आँशुसँग बगेका शब्दका सँगालो मात्र हुन् । नमन गर्छु बाबा हजुरलाई । हामी मित्र मण्डलीलाई सदवुद्धी देऊ । यी नेताहरूको मुख नताकेरै तपाईँले दिएको सद्वुद्धीको प्रयोग गरेर हामीले सुरूवात गरेको यो आन्दोलनमा साथ देउ । कसम छ तिम्रो र आमाको, आर्यघाटमा लम्पसार नपरे सम्म नेपाली र नेपाल आमाको मर्यादित तरिकाले सेवा गर्छु, गर्छौँ । यहि आशिर्वाद दिनुहोस बाबा, हामी छोरा छोरीको तपाईँलाई भेट । जय नेपाल आमा ।

( आचार्यद्वारा आज बुबाको मुख हेर्ने चाड कुशे औंशीको दिन पारेर लेखिएको बिचार हो)