सुदूरपश्चिम

डल्फिन हेर्न टावर निर्माण

धनगढी । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ । कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षण प्रेमी बताउँछन् ।

अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा टावर निर्माण गरेको छ । नदीमा जल सतह बढेको बेला यो टावरबाट पनि डल्फिन अवलोकन गर्न सकिन्छ । वर्षायामको समयमा नदीमा डुङ्गामार्फत् जलयात्राको आनन्द लिन सकिने र डल्फिनको अवलोकन पनि गर्न सकिने अनुभव स्थानीय संरक्षण प्रेमी फुलराम चौधरीले सुनाउँछन्.।

घुम्न आउने पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने काममा स्थानीय युवा सक्रिय हुने गर्दछन् । विद्यालयको छुट्टीपछि आफू पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रमा लैजाने गरेको स्थानीय युवा गोकुल भण्डारीले बताए । मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यहाँका युवा वर्गमा देखिन्छ ।कैलालीको टीकापुर बजार र भजनी हुँदै डल्फिन देखिने नदी तटीय क्षेत्रमा पुग्न सकिन्छ ।

बेलायती नागरिकको मोह

डल्फिन संरक्षणका अलावा विदेशी पर्यटकलाई डल्फिन चरन क्षेत्रमा घुमाउनका लागि उत्प्रेरित गराउनमा बेलायती नागरिक जोन स्पासार्टले योगदान दिइरहनु स्थानीय बासिन्दाको भनाइ छ । डल्फिन चरन क्षेत्र ढुङ्गाना टोलमा भेटिएका स्पासार्टले यहाँका नदीमा डल्फिनको सहजरुपमा अवलोकन गरेर मनोरञ्जन लिन सकिने अनुभव सुनाए ।

ठाकुरद्वारामा पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहेको ‘वाइल्ड ट्रयाक एडभान्चर’मा लगानी गरेका संरक्षण प्रेमी स्पासार्टले प्रश्न गरे, “कर्णाली नदी र बबई नदीको पानी केवल सिँचाइमा प्रयोग गर्ने गरी सिँचाइ आयोजना निर्माण भइरहेको अवस्थामा यो क्षेत्रका बाघ, हात्ती र डल्फिनका लागि पानी कहाँबाट प्राप्त हुन्छ ?”

डल्फिनको संरक्षण, प्रवद्र्धन, प्रचारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डल्फिन महोत्सवका क्रममा हालैै संरक्षण प्रेमीद्वय स्पासार्ट, ‘गुलेली बाजे‘का नामले चिनिनु हुने भोजराज श्रेष्ठ र कलाकार चाँदनी हमाललाई सम्मानित गरिएको थियो ।

डल्फिन संरक्षणमा ‘गुलेली बाजे’:

गाउँमा ‘गुलेली बाजे’ का नामले चिनिनु हुने भोजराज श्रेष्ठको एक्लो पहलमा नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको विषय सार्वजनिक गरिएको थियो ।

उनले यो विषय सार्वजनिक गरेसँगै डल्फिनको संरक्षण प्रवद्र्धन एवं प्रचारप्रसार अभियान पनि शुरु गरे । ८४ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झै संरक्षण अभियानमा लागिरहे । डल्फिन संरक्षण केन्द्र कैलालीका संस्थापकसमेत रहेका श्रेष्ठले संस्थामार्फत् डल्फिनको सम्वद्र्धनसम्बन्धी क्रियाकलाप गर्दै आएका छन् ।

रासससँगको कुराकानीमा श्रेष्ठले डल्फिनको अवलोकन गर्न आउने पर्यटक वर्षेनी बढ्दै गएकोे बताए। यो क्षेत्रमा १३० वटा डल्फिन रहेको अनुमान गरिएको छ ।

कैलाली भ्रमण वर्ष २०७५ अन्तर्गत हालै सो क्षेत्रमा डल्फिन महोत्सव गरिएको थियो । नदीमा जलयात्रा ९¥याफ्टिङ०को आनन्द लिँदै डल्फिनको अवलोकन पनि गर्न पाइने यो ठाउँ डल्फिन अवलोकनका लागि नेपालकै प्रमुख गन्तव्य हुनसक्ने अर्का संरक्षण प्रेमी विजयराज श्रेष्ठ बताउँछन् ।

कैलाली भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले कैलाली भ्रमण वर्षमा डल्फिन चरन क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिएको बताए।
वर्षायाममा भारतको घाँघरा नदीबाट कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनःघाँघरा नदीमै फर्किने गरेको संरक्षण प्रेमीको भनाइ छ ।

यहाँका नदीमा जन्मिएका बच्चा फर्किदा वयस्क भएर जाने गरेको श्रेष्ठले बताए । सो क्षेत्रमा गठन भएको डल्फिन संरक्षण क्षेत्र केन्द्रअन्तर्गत डल्फिन संरक्षण उपकेन्द्रका साथै डल्फिन क्लब र इको क्लबले डल्फिन संरक्षणका लागि विभिन्न गतिविधि गरिरहेका छन् ।