राजनीति

बिपीको विचारलाई जनतामाझ लैजानुपर्ने बेला आएको छ : डा रिजाल

काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले पार्टीले विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।

एक सय पाँचौँ बिपी जन्मजयन्तीका अवसरमा काङ्ग्रेस धनकुटा काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काङ्ग्रेसको सङ्गठन’ विषयक कार्यक्रममा उनले बिपीको विचारलाई आत्मसात् गरी पार्टी सधैं जनतामाझ हुनुपर्ने बताए ।

“बिपीका बारेमा धेरै चर्चा हुने गर्छन्, मानिसको व्यक्तिगत सोचलाई सीमाभित्र नराखेर अघि बढ्ने व्यक्ति बिपी कोइराला हुनुहुन्थ्यो,” उनले भने । नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गरे ।

काङ्ग्रेस धनकुटाका पूर्वसभापति एवम् पूर्वसांसद मनोहरनारायण श्रेष्ठले पार्टी नेतृत्वले समय र विधानअनुसार चल्न नसकेका कारण पार्टी कमजोर भएको बताउँदै “पार्टीभित्र रहेको गुट, उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुँदैन”, भने ।

काङ्ग्रेस धनकुटाका पूर्वसभापति हरि अधिकारीले बिपीको विचार अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै पार्टी नेतृत्वले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

काङ्ग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काङ्ग्रेसको सङ्गठन बलियो हुने बताए ।