आर्थिक

नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सो अवसरमा ट्राफिक प्रहरी महाशाखाका चोरी नियन्त्रण शाखाका प्रमुख तथा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीले मोटरसाइकल चोरी नियन्त्रणका लागि रिकन्डिसन व्यवसायीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउदै आगामी दिनमा संघ र ट्राफिक प्रहरी बीचमा सहकार्य गर्न सकिने बताए ।

महानगरीय प्रहरी प्रभाग सोह्खुट्टेका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले समाज वा राष्ट्र सञ्चालनका लागि समेत रिकन्डिसन व्यवसायीहरुको भूमिका महत्वपूर्ण भएको बताए ।

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष तथा नाडा कार्यसमिति सदस्य दीपक अग्रवालले मोटरसाइकल आयातकर्तासँगै रिकन्डिसन व्यवसाय समेत विस्तार भइरहेको समयमा दुवै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए ।

नेपाल रिकन्डिसन व्यवसायी संघका अध्यक्ष बी. एन. पाठकले गत बर्ष यता संघले हासिल गरेका उपलब्धि र आगामी योजनाका वारेमा जानकारी गराए ।

गत वर्ष मोटरसाइकल नामसारी लगायतका कार्यका लागि जाने व्यवसायीहरुलाई यातायात कार्यालयमा परिचय पत्र प्रदान गर्ने, सेवाग्राहीलाई आवश्यक सल्लाह प्रदान गर्ने, ट्राफिक प्रहरीसँग अन्तरक्रिया गर्ने आदि कार्य संघले सम्पन्न गरेको छ ।
आगामी वर्ष कार्यालयसँग समन्वय गरी व्यावसायिक हकहितका लागि पहल गर्ने र मोटरसाइकल चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी पहल गर्ने आदि कार्य गर्ने बताइएको छ ।

सेकेन्ड ह्यान्ड मोटरसाइकलको कारोबार गर्ने व्यवसायीहरुको हक हितका लागि नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको स्थापना २०६२ बैशाख १९ गते भएको थियो । हाल संघमा १ सय १७ संस्था सदस्य छन् । काठमाडौं उपत्यकामा मात्र कार्यरत रहेको संस्थालाई आगामी दिनमा उपत्यका वाहिर समेत विस्तार गर्ने योजना रहेको पाठकले बताए ।