साहित्य

बिपी कोइराला स्मृति ट्रष्टको सम्मानमा बाँस्तोला र घिमिरे

काठमाडौँ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी सेनानी सम्मान काङ्ग्रेस नेता चक्रप्रसाद बाँस्तोला र बिपी साहित्य सम्मान वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरेको छ ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०५औँ जन्मजयन्तीमा आज एक कार्यक्रमको आयोजना गरी बिपी सेनानी सम्मान तथा साहित्यकार सम्मान प्रदान गरेको हो ।
बिपी सेनानी सम्मानको राशि रु ५१ हजार नगदसहित ताम्रपत्र र बिपी साहित्य सम्मान रु एक लाख नगदसहित ताम्रपत्र रहेको छ । बिपी सेनानी सम्मान अचेत अवस्थामा रहनुभएका बाँस्तोलाकी धर्मपत्नी कुसुम बाँस्तोलाले लिएका थिए ।
कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादवले बिपी कोइरालाले देखेको सपना संविधान निर्माण भएर पूरा हुँदै गएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि हिमाल, पहाड र तराईलाई जोडेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
नेपाली काङ्ग्रेसको तर्फबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनेका यादवले काङ्ग्रेसले कल्पना गरेको प्रजातान्त्रिक बाटोमा मुलुक अगाडि बढेको बताए । “सक्षम प्रतिपक्ष नभई लोकतन्त्र चल्न सक्दैन”, उनले भने ।
बाँस्तोलाले प्रजातन्त्र स्थापनाको सङ्घर्षबारे बोल्नुहुँदै वरिष्ठ पत्रकार हरिहर वीरहीले बाँस्तोला पार्टीभित्र देखिएको गुठउपगुठलाई मिलाएर लैजाने क्षमता भएको राजनीतिज्ञ भएको बताए । “बिपी कोइरालालाई राजनीतिमा सफल बनाउन बाँस्तोलाको पनि महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने ।
सम्मानित साहित्यकार घिमिरेको बारेमा बोल्नुहुँदै प्रा डा अभि सुवेदीले नेपालको साहित्यिक पत्रकारिताको विकास र विस्तारमा घिमिरेको महत्वपूर्ण भूमिका रहेको बताए । “बिपी कोइरालाको साहित्यलाई पत्रकारिताको माध्यमबाट आम नागरिकमाझ लैजान घिमिरेको योगदान महत्वपूर्ण छ”,उनले भने ।
सम्मानित व्यक्तिद्वय बाँस्तोला र घिमिरेले आफूहरुले नेपाली साहित्य र राजनीतिक क्षेत्रमा गरेको योगदानबापत् बिपी कोइरालाको नाममा स्थापना भएको संस्थाले सम्झेर सम्मान गरेको भन्दै खुशी व्यक्त गरे ।
ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, महासचिव रामचन्द्र पोखरेलले कोइरालाले नेपाली राजनीतिक र साहित्य क्षेत्रमा गरेको योगदानलाई आम जनतामाझ चिनाउन ट्रष्टले महत्वपूर्ण भूमिका खेलेको बताए । उनीहरुले विगत वर्षदेखि नै सेनानी सम्मान र साहित्य सम्मानबाट विभिन्न व्यक्तिलाई सम्मान गर्दे आइरहेको उल्लेख गरे ।