बाग्मती

जोखिम मोल्दै बालुवा मजदुर

धादिङ । त्रिशूली नदीबाट बालुवा झिकेर जीविका चलाइरहेका बालुवा मजदूरहरु जोखिम मोलेर परिवार पालिरहेका छन् । गल्छी गाउँपालिका वडा नं ४ बेल्खुस्थित त्रिशूलीबाट दैनिक बालुवा झिकेर गुजारा गरिरहेका जाजरकोटबाट आएका रमेश रोकाया त्रिशूलीको भेलसंँगै बालुवा झिकेर साथीको थुञ्चेमा राख्दै थिए । घर छाडेर बालुवा झिक्न आई नदीको भेलमा हेलिँदा जोखिम जति भए पनि आम्दानीले लोभ्याएको उनी बताउँछन् ।

जाजरकोटबाट मात्र होइन नेपालका २० भन्दा बढी जिल्लाबाट बालुवा झिक्नका लागि धादिङका विभिन्न स्थानमा करीब १० हजार मजदूर आएको अनुमान गरिएको छ । बालुवा झिक्न र बिक्री गर्नका लागि पनि सहज छैन । नदीमा डुबेर बालुवा निकालेपछि खोला किनारमा बालुवा राख्दा समेत हरेक एक गाडीको रु एक हजार पाँच सय भाडा तिर्नुपर्छ । गाउँपालिकालाई छुट्टै कर तिर्नुपर्छ, त्यसमा पनि बिचौलियाले पैसा लिन्छ । एक ट्रिप निकाल्न चार जना भयो भने मुश्किलले एक दिनमा एक ट्रिप बालुवा झिक्न सकिन्छ । जताततै कर तिर्दा हैरानी भइरहेको रोकायाको भनाइ छ । जग्गा र बाटो कर, गाउँपालिकालाई कर, वातावरण प्रदूषण करसमेत तिर्नुपर्ने भएपछि आफूहरु मर्कामा परेको उनीहरुले गुनासो गरेका छन् ।