अन्तर्राष्ट्रिय

अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य

लुआन्डा । अंगोलाका पूर्व राष्ट्रपति जोसे एडुआर्डो डोस सान्तोसले अंगोलाको चारदशक लामो सक्रिय राजनीतिक जीवनबाट शनिबार अवकाश लिँदै छन् । अंगोलाको सत्तारुढ दलको नेतृत्व सान्तोसले राष्ट्रपति जोआ लाउरेन्कोलाई हस्तान्तरण गर्न लागेका हुन् ।

दलको नेतृत्व हस्तान्तरणले दुबै नेताबीच मतान्तर रहेको र नयाँ नीतिहरुले सान्तोसको विरासतमाथि चुनौती थपिएको प्रस्टै देखिएको छ ।

सत्ताको बागडोर छाड्नेक्रममा सन् १९७९ देखि पार्टी र सत्तामा एकछत्र शासन गरेका सान्तोसले सम्मानजनक रुपमा सत्ता छाडेको देखाउन चाहन्थे । अगष्ट २०१७ मा सम्पन्न चुनावमा सान्तोस उम्मेदवार भएनन् । ७६ वर्षीय स्वतन्त्रता सेनानी सान्तोसले सत्ताको बागडोर आफ्नै रक्षामन्त्री लाउरेन्कोलाई हस्तान्तरण गरेका थिए ।

तर सान्तोसले तेलको धनी राष्ट्र अंगोलाको पिपुल्स मुभमेन्ट फर द लिबरेसन अफ अंगोला (एमपीएलए) पार्टीको नेतृत्व छाडेका थिएन । यही पार्टीमा वास्तविक शक्ति रहेको विश्वास गरिन्छ ।

पार्टीको शनिबार बस्ने विशेष बैठकमा पार्टीका नं। १ नेता सान्तोसले राष्ट्रपति लाउरेन्कोले हस्तान्तरण गर्ने कार्यक्रम छ । करिब २ करोड ८० लाख जनसंख्या रहेको दक्षिणी अफ्रिकी राष्ट्रको सत्ता शान्तिपूर्ण रुपमा नयाँ नेतृत्वमा औपचारिक रुपमा जानेछ ।

“एमपीएलएको सभापतिको रुपमा जोसे एडुआर्डो डोस सान्तोसको बहिर्गमन निकै महत्वपूर्ण क्षण हो,” लन्डनस्थित चथाम हाउसका अंगोला विज्ञ अलेक्स भाइन्सले भने । “दुबै नेताबीच लामो समयदेखि चलेको रस्साकस्सीबीच सत्ता हस्तान्तरण हुन लागेको हो ।”

आफ्नै दलबाट नयाँ उत्तराधिकारी छनौट गरी डोस सान्तोसले शान्तिपूर्ण हस्तान्तरणको अपेक्षा गरेका थिए । उहाँले अर्थतन्त्रका रणनीतिक महत्वका क्षेत्रहरु आफ्ना निकटस्थको नियन्त्रणमा रहने व्यवस्था गरिदिएका थिए । उनले छोरी इसाबेललाई राज्यको महत्वपूर्ण तेल कम्पनीको नेतृत्व दिएका थिए ।

डोस सान्तोसले मुलुकको सुरक्षाफौजका प्रमुखहरु पनि आफूनिकट व्यक्तिलाई दिएका छन् ।

तर लाउरेन्कोले गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपतिले गरेका कतिपय निर्णयहरु उल्टाएका छन् । अर्थतन्त्रमा सुधार गर्ने उद्देश्यले उनले सोनान्गोलको प्रमुखबाट इसाबेललाई बर्खास्त गरेको थियो भने सान्तोसका अरु कतिपय निकटस्थलाई पदबाट हटाएको थियो ।

सत्ता र पार्टीभित्रको यो हस्तक्षेपप्रति पूर्व राष्ट्रपति आफैंले आलोचना गरे । उनले भने, “परिवर्तनहरु आवश्यक छन् तर ती अतिवादी किसिमका हुनु राम्रो होइन ।”

हालैका महिनाहरुमा, दुई नेता र उनीहरुका सहयोगीले हस्तान्तरणको कार्यलाई सहज रुपमा सम्पन्न गराउन प्रयास गरिरहेका छन् । “सबै कुरा शान्तपूर्ण रुपमा अघि बढिरहेको छ, र कुनै किसिमको हलचल छैन,” पार्टीको महिला विभागकी महासचिव लुजिआ इन्ग्लेसले बताए ।

तर दुबै नेताबीचको सुमधुर सम्बन्धमा फुट आउनै लागेको सङ्केत भने देखिएको छ ।

डोस सान्तोसले शुरुमा अप्रिल २०१९ बाट पार्टीको बागडोर हस्तान्तरण गर्ने प्रस्ताव ल्याएका थिए, तर लाउरेन्कोले शनिबार नै गर्नुपर्ने अडान राखे । “डोस सान्तोसका बालबच्चालाई विभिन्न पदबाट बर्खास्त गरेसँगै लाउरेन्को हाबी भएको अनुमान गरिएको थियो,” फ्रेन्च इन्स्टिच्यूटका एकजना विश्लेषक बेन्जामीन अजेले भने ।

सन् १९९२ देखि १९९६ सम्म प्रधानमन्त्री रहेका मार्कोलीनो मोको पनि परिवर्तनको पक्षमा उभिएका छन् । “लाउरेन्कोले अघि सारेका नीतिहरु उत्साहजनक छन् र यी प्रयत्नहरु आफ्नो सत्तालाई बलियो बनाउनेतर्फ केन्द्रित छैनन् । यी अभियानहरु मुलुकको हितको पक्षमा देखिएका छन् ।”

चुनाव भएयता लाउरेन्कोले तेलको क्षेत्रमा व्यापक सुधार गरेका छन् । लगानीकर्तालाई आकर्षिक गर्ने उद्देश्यबाट अभिप्रेरित यो सुधारबाट मुलुकको राजश्वमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

सुधार कार्यका सन्दर्भमा अंगोलाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ४ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिने प्रयत्न जारी राखेको छ । “लाउरेन्कोले दिर्घकालीन संरचनागत सुधार गर्ने अपेक्षा गर्न सकिन्छ,” भाइन्सले भने ।

सन् २०२२ मा हुने अर्को चुनावअघि नै राष्ट्रपति लाउरेन्को अंगोलामा आर्थिक सुधारका साथै रोजगारी सिर्जनाका कार्यमा उल्लेखनीय कार्य गर्ने योजनाका साथ अघि बढ्नु भएको देखिन्छ ।