अन्तर्राष्ट्रिय

इडलीबको भविश्यबारे तेहरानमा शिखर बैठक

तेहरान । सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविश्य सुरक्षित गर्ने उद्देश्यले इरानको राजधानी तेहरानमा शुक्रबार शिखर बैठक शुरु हुदैछ ।

उक्त शिखर बैठक इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुबीच हुने बताइएको छ । यस बैठकका लागि ती नेताहरुले सहमति जनाइसकेका छन् र उनीहरु शुक्रबार तेहरान पुग्दै छन् ।

यस शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका बिद्रोही र उनीहरुको कब्जामा रहेका सिरियाका अरु सर्वसाधारण नागरिकको बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने बुझिएको छ ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरुको नियन्त्रणमा रहेका रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
इरानी राष्ट्रपति हसन रौहानीले उहाँका टर्कीस् समकक्षी रिसेप तैयप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार तेहरानमा स्वागत गर्दै छन् । उनीहरुको बैठक शुक्रबार अपरान्ह् शुरु हुदैछ ।
उक्त शहरमा बिहीबार पनि सरकारी सेनाले कैयौँ नागरिकलाई लखेटेको थियो । सरकारी सेनाले इडलिबको छेउछाउबाट आक्रमण थालेको छ । त्यस क्रममा हिजो ती नागरिक भागेका बताइएको छ ।

रुसको सहयोगमा सिरियाली सेनाले इडलीबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बस्न लागेको छ ।

सिरियामा गएको करिब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरुले उक्त शहर कब्जा नै गरेका थिए ।

इडलीबमा अहिलेकै अवस्थामा आक्रमण हुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघ लगायतका संघ संस्थाहरुले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् ।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रही आएको छ । त्यस्तै सरकारी सेनालाई छिमेकी रुस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

सन् २०१५ मा कब्जा गरिएको इडलीब र त्यस वरपरका इलाकामा मात्र करिब ३० लाख मानिस बस्छन् । तीमध्ये आधाजति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् ।

विगतमा टर्की सरकारले सहायता दिएकोले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ । इडलीबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकी समेत स्थापना गरेको छ ।

सिरियामा गृहयुद्ध जारी छ । सातवर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन् ।