अन्तर्राष्ट्रिय

म्याटीस एकाएक अफगानिस्तान भ्रमणमा

काबुल । अमेरिकी रक्षामन्त्री जीम म्याटीस युद्धग्रस्त अफगानिस्तानको भ्रमणका क्रममा शुक्रबार पूर्व जानकारी बेगर काबुल पुगेका छन् । अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा म्याटीस अफगानिस्तानमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अफगानिस्तानम रहँदा उनले राष्ट्रपति अस्राफ घानी तथा अफगानिस्तानमा तैनाथ अमेरिकी तथा नेटो सेनाका संयुक्त नयाँ अमेरिकी कमान्डर जनरल स्कट मिलरसँग भेटघाट गर्नेछन् । हालैका महिनामा म्याटीसको यो दोस्रो अफगानिस्तान भ्रमण हो ।

अफगानिस्तानकै सबैभन्दा शक्तिशाली लडाकू समूह तालिबान विरुद्ध अफगानी वा अमेरिकी नेतृत्वको सेनाले गरिरहेको सैनिक कारबाही प्रभावकारी नभएको सर्वत्र महसुस गरिएको छ । अफगानी र अन्य अन्तर्राष्ट्रिय समुदायले अफगान शान्ति प्रक्रियाका बारेमा तालिबानसँग वार्ता र संवादको प्रयास पनि गरिरहेका छन् ।

जुलाईमा कतारमा अमेरिकी अधिकारी र तालिबानका प्रतिनिधिबीच भएका वार्ताहरुले लडाइँमा पूर्णविराम ल्याउने र सम्झौता हुने अपेक्षा बढेको छ । यहि सन्दर्भमा गत महिना राष्ट्रपति घानीले एकतर्फी युद्धविराम घोषणा गरेका थिए ।

अगष्ट २०१७ मा ट्रम्प प्रशासनले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या बढाउने घोषणा गरेपछि विवाद अझ चुलिएको थियो । तालिबानलाई वार्ताको टेबलमा ल्याउन सँगसँगै नयाँ प्रयत्नहरु पनि जारी छन् ।

तर अफगानिस्तानको शान्ति प्रक्रियामा भइरहेका विलम्बबाट अमेरिकी राष्ट्रपति चिन्तित छन् । उनले अमेरिकी कूटनीतिज्ञ र अरु अधिकारीहरुलाई वार्ता प्रक्रियालाई तिब्रता दिन आग्रह गरिरहेका छन् ।

तालिबान समूहले अमेरिकासँग सोझो वार्ता गर्नुपर्ने माग लामो समयदेखि गरिरहेका छन् र उनीहरुले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएका छन् । तालिबानले अफगान सरकारलाई अबैधानिक मान्दछ । अमेरिका र तालिबान प्रतिनिधिबीच यसै महिना अर्को बैठक हुने अनुमानहरु पनि गरिएका छन् ।