गण्डकी प्रदेश

अपुग यात्रुको हर्जना दिएपछि सञ्चालनमा आएको विमानस्थल पुनः ठप्प

लक्ष्मीप्रसाद सापकोटा /पर्वत । झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प भएको छ ।

गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । डेढ महिनाभन्दा बढीदेखि त्यहाँ कुनै पनि उडान हुन सकिरहेको छैन ।

बलेवा विमानस्थलमा उडान भर्दै आएका दुईवटै विमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो । नेपाल एयरलाइन्सको विमान मर्मतमा राखिएको र तारा एयरको विमान हुम्लामा दुर्घटनामा परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ ।

तारा एयरले सूचना नै जारी गरी असार, साउन र भदौमा उडान नहुने जानकारी गराएको थियो । अन्तिम पटक गएको असार २८ मा नेपाल एयरलाइन्सले उडान भरेको थियो ।

नेपाल वायु सेवा निगम बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार ‘पुराना विमान बिग्रिएका कारण झण्डै डेढ महिनादेखि उडान हुन नसकेको हो । एकातिर यात्रुको अभाव हुने र अर्कोतर्फ पुराना विमान बिग्रिएर मर्मतका लागि राखिएकाले उडान हुन नसकेको हो ।’

अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो । नगरपालिकाले अपुग यात्रुको हर्जना तिर्दै आएको भए पनि चालु आर्थिक वर्षदेखि विमान नै आउन छाडेपछि भुक्तानीसमेत रोकेको छ ।

चैतदेखि हालसम्म दुवै कम्पनीले कुल २५ वटा उडान भरेका छन् । नेपाल एयरलाइन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सको १३ वटा उडानमा अपुग भएका यात्रुको हर्जाना पाँच लाख १४ हजार ४०० र तारा एयरको १२ वटा उडानमा अपुग यात्रुको हर्जाना रु पाँच लाख ६५ हजार गरी कुल रु १० लाख ७९ हजार ४०० नगरपालिकाले तिरेको छ । एकातिर विमानस्थल पनि कालोपत्र नभएको र अर्कोतर्फ मौसमका कारण देखाउँदै उडान नमान्ने गरेको पौडेलले बताए।

रनवे कालोपत्र नभएकाले वर्षा रोकिएको दुई घण्टापछि मात्र उडान भर्न मिल्छ, उनले भने, “वर्षा र यात्रुको सुनिश्चिता नहुँदा पनि समस्या भएको हो ।” तारा एयरले आगामी असोजदेखि र नेपाल एयरलाइन्सले केही दिनपछि मात्रै उडान भर्ने जानकारी आएको भए पनि निश्चित भने नभएको म्यानेजर पौडेलले बताए । आइतबार तारा एयर र बिहीबार नेपाल एयरलाइन्सले उडान भर्दै आएका थिए ।

विमानमा दुवैतर्फ गरेर २४ जना यात्रु हुनुपर्नेमा यात्रु नपुग भएमा त्यसको हर्जना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौताअनुसार तारा एयरको उडान भाडा प्रति यात्रु छ हजार ७९५ तथा नेपाल एयरलाइन्सको रु पाँच हजार ६०० प्रति यात्रुका दरले बुझाउँदै आएको छ । ती विमान कम्पनीलाई बागलुङ नगरपालिकाले रु २० लाख अग्रीम पेश्की दिएपछि मात्र त्यहाँ विमान सञ्चालनमा आएको थियो । तर ती कम्पनी रित्तो जहाज उडाएर भाडा असुली गरिरेहेको बताइएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गरिए पनि नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुनिश्चितताको लिखित प्रतिबद्धता मागेपछि अपुग यात्रुको व्ययभार नगरपालिकाले व्यहोर्ने सर्तमा विमानस्थल नियमित सञ्चालनमा आएको थियो ।

विमानस्थलसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ । अहिले पनि विमानस्थलसम्म पुग्ने बाटोको पहुँच राम्रो नभएकाले पनि यात्रु अभाव हुन थालेका हुन् । बागलुङ, म्याग्दी वा पर्र्वत सदरमुकामदेखि बलेवा विमानस्थलसम्म पुग्नुभन्दा पोखरा पुग्न सहज र पोखरा पुगेपछि सहजै विमान पाइने ग्यारेण्टी भएकाले पनि विमानस्थल सञ्चालनमा कठिनाइ भएको जनाइएको छ ।

विसं २०१८ मा निर्माण भएको सो विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ वर्षदेखि बन्द थियो । बलेवादेखि काठमाडौँसम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएपछि यात्रुले भाडा समायोजन गर्न माग गरेका थिए ।