गण्डकी प्रदेश

ठेक्का हटेपछि आम्दानी

बागलुङ । पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ । विसं २०३२ देखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले तीन वर्षदेखि पूजा सञ्चालन गर्दै आएको छ । आव २०७१/७२ मा रु ४१ लाखमा पूजा सञ्चालन तथा व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका थिए । ठेक्का नदिई समिति आफैँले पूजाआजा चलाउँदा आव २०७२/७३ मा भेटीको आम्दानी रु ९० लाख भएको थियो । उक्त आम्दानी आव २०७३/७४ मा रु एक करोड १४ लाख ३३ हजार तथा आव २०७४/७५ रु एक करोड ३४ लाख ८७ हजार पुगेको छ ।

“ठेक्का हटेको पहिलो वर्षमै आम्दानी दोब्बरले बढ्यो” समितिका अध्यक्ष राजु खड्काले भने, “भेटीबाट व्यक्तिले कमाउने क्रमको अन्त्य भएको छ ।” चुस्त व्यवस्थापन, पारदर्शिता र मितव्ययी खर्च प्रणालीले आम्दानीमा वृद्धि भएको उनको भनाइ छ । भक्तजन, नागरिक समाज र सामाजिक सङ्घसंस्थाले समितिले नै पूजाको जिम्मा लिन सुझाव दिएका थिए ।

“पहिला मन्दिरको आम्दानीबारे केही थाहा हुने गरेको थिएन”, उनले भने, “अहिले सबै कुरा पारदर्शी छ ।” पूजा सञ्चालन समितिको मातहतमा आएपछि साप्ताहिक रुपमै आम्दानी र खर्च सार्वजनिक हुन थालेको छ । बलिको मुढ, भेटी, परेवा र अक्षेता मन्दिरको मुख्य आम्दानीको स्रोत हो । बलिको रुपमा मन्दिरमा बोका, राँगो, हाँस, सुँगुर र कुखुरा चढाउने गरिन्छ । मुढ (टाउको) भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । मन्दिरमा बडादशैँ र चैतेदशैँका बेला सबैभन्दा बढी आम्दानी हुने गरेको छ । गत आवको चैतमा रु २८ लाख ९० हजार आम्दानी भएको थियो । बलि नचढ्ने र कम पूजा हुने साउनमा रु दुई लाख ९९ हजार भेटी चढाइएको थियो ।

“ठेक्का हुँदा विकृति थियो, अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो” मन्दिरका पुजारी जयबहादुर खड्काले भने, “अहिले वातावरण धेरै सहज छ ।” पूजाआजाबाट आम्दानी बढेसँगै खर्चसमेत बढेको समितिले जनाएको छ । तीन वर्षअघि रु १० लाख खर्च भएकोमा अहिले वार्षिक खर्च करीब रु २५ लाख पुगेको छ । कर्मचारी तलबमा मात्र रु १८ लाख ६८ हजार खर्च हुने गरेको छ ।